भदौ १७ , काठमाडौं । भारतको हरियाणास्थित फरिदाबादमा एक विद्यालयकी १६ वर्षीया कक्षा ११ की छात्राको विद्यालय भवनको तेस्रो तलाबाट खसेर मृत्यु भएको छ। घटना मंगलबार दिउँसो करिब १ः३० बजे डाबुआ–गाजीपुर रोडस्थित नवोदय विद्या निकेतन सिनियर सेकेन्डरी स्कुलमा भएको प्रहरीले जनाएको छ।
विद्यालयबाट विद्यार्थीहरू बाहिरिने क्रममा छात्रा तेस्रो तलाको छतमा पुगेपछि तल हाम फालेको प्रहरीको प्रारम्भिक भनाइ छ। विद्यालयका कर्मचारीले उनलाई तत्काल अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
छात्राका बुबाले भने एक शिक्षकले उनलाई कक्षामा भएको हल्लाका कारण करिब चार घण्टा घाममा उभ्याएर सजाय दिएको आरोप लगाएका छन्। उनका अनुसार छोरी उक्त घटनामा संलग्न नभए पनि उनलाई सजाय दिइएको थियो। विद्यालयले भने परिवारको आरोप अस्वीकार गरेको छ।
विद्यालयका प्रधानाध्यापक आरके शर्माले छात्रा महिला गैर–शिक्षण कर्मचारीसँग शौचालय गएको र त्यसपछि अचानक छतमा पुगेर तल खसेको बताएका छन्। उनले छात्राले यस्तो कदम किन चालिन् भन्नेबारे आफूहरूलाई जानकारी नभएको बताएका छन्।
प्रहरीले घटनाबारे विद्यालय प्रशासनसँग सोधपुछ गर्नुका साथै सीसीटीभी फुटेज जाँच गरिरहेको जनाएको छ। छात्राका बुबाले औपचारिक उजुरी दिएपछि थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।