माघ २,काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्सँग जुध्ने संरचनाको निर्माण गर्नुपर्ने बताएकी छिन् । आज महानगरपालिकाले भूकम्प दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले धेरै मानिसहरूको सङ्ख्या विद्यालयमा हुने भएकाले विद्यालय पुनः निर्माणको काम थाल्न जरुरी भइसकेको बताइन् ।
उनले विद्यालयको पुनः निर्माणका लागि स्थानीय सरकारको श्रोत, साधनले मात्रै नपुग्ने भएकाले प्रदेश र केन्द्र सरकारले आवश्यक चासो दिनुपर्ने बताइन् । भूकम्प लगायतका विपद्मा स्थानीय प्रविधि प्रयोग गर्नुपर्ने बताउँदै उनले आगामी दिनमा विपद्बाट जोगिनका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार मिलेर अघि बढ्नुपर्ने बताइन्।
उपप्रमुख डङ्गोलले नेपाल भूकम्पको जोखिममा विश्वमा ११ औँ नम्बरमा पर्ने भएकाले कुनै पनि बेला भूकम्प आउन सक्ने अवस्थालाई मध्यनजर गरी विपद् पूर्व तयारी गर्नुपर्ने बताइन् । पूर्व तयारीलाई काठमाडौँ महानगरले प्राथमिकतामा राखेको उनले बताइन् ।