चैत २९,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन तत्काल नखुल्ने प्रष्ट पारेका छन् ।
आज सातैवटा प्रदेशका मुख्यमन्त्रीहरुसँग पालैपालो भिडियो कन्फरेन्स गरेका ओलीले लकडाउन हतारामा खोलेर गल्ती नगरिने प्रष्ट पारेका उनको सचिवालयले जनाएको छ ।
उनले बिहान ११ बजेदेखि करिब ४ बजेसम्म मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गरेका थिए ।
सो क्रममा ओलीले खुल्ला सीमाना रहेको भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका उल्लेख गर्दै नेपाल सरकारले मात्रै लकडाउन खोलेर जोखिम लिन नसकिने प्रष्ट बताएका थिए । ओलीको संकेत भारतले लकडाउन लम्ब्याउनका लागि आगामी दिनमा लिनसक्ने रणनीतिप्रति केन्द्रीत थियो ।
भारतले कम्तीमा २ हप्ताले लकडाउनको अवधि लम्ब्याउन खोजिरहेको छ ।
प्रधानमन्त्री ओलीले मूख्यमन्त्रीहरुलाई कोरोना भाइरस संक्रमण फैलन नदिनका लागि सकेसम्म कडाई गर्न, सीमा क्षेत्रमा थप कडाई गर्न समेत निर्देशन दिएका छन् ।
उनले सबै मुख्यमन्त्रीहरुसँगको वार्तामा प्रमुख प्रतिपक्षी दल, पार्टीकै अर्का अध्यक्ष प्रचण्ड लगायतले उठाइरहेका सर्वदलीय संयन्त्र गठनको आवश्यकता समेत नरहेको प्रष्ट पारेका उनको निजी सचिवालयले जनाएको छ ।