►शर्मिला पाठक
वैशाख २४, काठमाडौँ । लकडाउनका कारण आर्थिक घाटा सामना गरिरहेको पुष्प व्यवसायलाई घरेलु तथा निजी क्षेत्रमा प्रयोग हुले फूल उत्पादनमा जोड दिने तयारी थालिएको छ । विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण बढ्न नदिन सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । जसका कारण बिक्रीको मुखमा रहेका फूलले बजार नपाउँदा यस व्यवसायले दैनिक रु एक करोड १५ लाख नोक्सान व्यहोरिरहेको छ ।
उत्पादित फूलमध्ये धेरै होटलमा साजसज्जाका लागि नै प्रयोग हुने गरेको भन्दै फ्लोरिकल्चर एशोसिएशनले घरघरमा बढी प्रयोग हुने फूल उत्पादन गर्न लागेको जानकारी दिएको छ । गत आइतबादेखि पाँचतारे होटल आगामी असोज मसान्तसम्मका लागि पूर्णरूपमा बन्द गर्ने निणयसमेत गरिसकेको छ ।
चैतदेखि असोज नेपालको लागि फूल उत्पादन र बिक्रीका हिसाबले पनि अत्यन्तै राम्रो मानिन्छ । तर, यस समयमै फर्किएर बिक्रीको तयारीमा रहेका फूल खेर गइरहेका छन् । महामारी कहिलेसम्म रहन्छ र कहिलेबाट रोकिन्छ भन्ने विषय विश्वलाई नै चुनौती बनिरहेको समयमा यस व्यवसायले आगामी दिनमा पनि बढी नोक्सान सामना गर्न नपरोस् भनेर निजीस्तरमा प्रयोग हुने फूल उत्पादन गर्न लागिएको एशोसिएशनले जनाएको छ ।
“अबका दिनमा निजीस्तरमा प्रयोग हुने फूल लगाउने केन्द्रित भएन भने यो व्यवसाय धरापमा पर्ने पक्का छ”, फ्लोरिकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजू श्रेष्ठले भन्नुभयो । पछिल्लो समय स्वदेशी उत्पादनले नै आत्मनिर्भर हुँदै गइरहेकाले अहिले सात प्रतिशत मात्रै आयात गर्नुपर्ने अवस्था छ । केही वर्षदेखि मखमली फूल त निर्यात पनि गर्न शुरु गरिसकिएको थियो । तिहारमा केही सयपत्री र प्रणय दिवसका लागि रातो गुलाफ आयात गर्नुपर्ने भए पनि अन्य फूलमा स्वदेशकै उत्पादनले धान्ने गरेको थियो ।
वाग्मती प्रदेश बढी मारमा
हाल नेपालमा १५७ हेक्टर जमिनमा फूलको व्यावसायिक खेती हँुदै आएको छ । वाग्मती प्रदेशमा सबैभन्दा बढी १०० हेक्टरमा खेती हुने गरेकाले यस व्यवसायबाट बढी नोक्सानी पनि यहाँ नै भएको छ । विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको थियो । व्यावसायिकरूपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएका छन् । यस व्यवसायबाट ४१ हजारभन्दा बढीले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।
नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । मुख्यगरी काठमाडौँ उपत्यकामा मात्रै ३०० व्यसायीले यसको खेती विस्तार गरिसकेका छन् ।
दुई लाख बढी फूलका बिरुवा नष्ट
यस सिजनमा फूल बिक्री गरी लगाउनका लागि तयारी अवस्थामा राखेका दुई लाख ५० हजार फूलका बिरुवा नष्ट गरिएको छ । यसरी नष्ट गरिएको सिजनल फूल हुन् । जहाँ विभिन्न २० प्रजातिका फूल छन् । उत्पादन भएकाले पनि बजार नपाएपछि व्यवसायीले अहिले धमाधम फूलका नयाँ बिरुवा नष्ट गरिरहेका छन् । अहिले काठमाडौँ उपत्यकाका तीन जिल्लामा र काभ्रेपलाञ्चोमा फूलका बिरुवा नष्ट गरिरहेका छन् ।
फूलका बिरुवामात्रै होइन कट फ्लावर पनि रोप्न तयारी अवस्थामा रहेका त्यत्तिकै मात्रामा नष्ट गरिएको छ । तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाफ आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको छ । अष्टे«लिया र मलेशियामा धेरै नेपालीले बसोबास गर्ने गरेकाले तिहारमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
रासस