►सन्तोष शर्मा
चैत ३०, बनियानी । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी ९लकडाउन० घोषणा गरेको छ । विभिन्न पेशा–व्यवसाय गर्नेको अहिले फुर्सदिला भएका छन् । उनीहरुको साथी अहिले करेसाबारी बन्न थालेको छ ।
फुर्सदिलो समयको सदुपयोग हुनुका साथै दैनिक आवश्यक पर्ने तरकारी पनि उत्पादन हुने भएकाले अहिले अधिकांश मानिस करेसाबारीमा ब्यस्त देखिन थालेका छन् । झापा भद्रपुर–७ का आदित्य पौडेलले लकडाउनको समयमा विभिन्न प्रकारको सागसब्जी लगाएको सुनाउनुभयो ।
“अरु काम केही छैन, बाहिर निस्कन मिल्दैन”, उहाँले भन्नुभयो, “घरमा बसेर समय बिताउनुभन्दा केही सागसब्जी लगाउन थालेको छु ।” उहाँले बारीमा फर्सी, साग, भिण्डी, धनियालगायत सागसब्जी लगाउनुभएको छ । उहाँजस्तै, भद्रपुर दीप लिम्बू पनि करेसाबारीमै व्यस्त छन् । “अरु बेला कामले केही गर्न भ्याइँदैन, अहिले फुर्सद छ”, उहाँले भन्नुभयो, “जसले लकडाउनको पनि पालना हुन्छ, समयको सदुपयोग पनि ।”
झापा क्षेत्र नं। १ का सांसद् राम कार्की ९पार्थ० पनि करेसाबारी स्याहार्दै हुनुहुन्छ । करेसाबारीमा गोडमेल गर्दै गरेको फोटो पोस्ट गर्दै कोरोना भाइरसबाट बच्न घरमै बसेर लकडाउनको पालना गर्न र सामाजिक दूरी कायम गर्न उहाँले आग्रह गर्नुभएको छ ।
रासससँग कुरा गर्दै उहाँले व्यावसायिकरुपमा खेती गर्न नसकिए पनि आत्मनिर्भर ९आफूलाई मात्र भए पनि खान पुग्ने० खेती हरेक नेपालीले गर्न आवश्यक रहेको औँल्याउनुभयो । “हरेक घरमा ‘किचन गार्डेन’ हुनुपर्छ”, उहाँले भन्नुभयो, “जसले परनिर्भरता हटाउँछ, आत्मनिर्भर बन्न सहयोग पुग्छ ।”
कनकाई नगरपालिका–३ का पत्रकार लीलाराज झापालीले समाचार लेखनसँगै लकडाउनको समयमा करेसाबारीलाई थप व्यवस्थित बनाएको बताउनुहुन्छ । भन्नुहुन्छ, “अहिले करेसाबारीकै तरकारीले भान्सा चलेको छ, बाहिरको तरकारी किन्नु परेको छैन ।”
करेसाबारीमा उत्पादन गरिएको तरकारी विषादीरहित हुने भएकाले स्वास्थ्यको दृष्टिकोणले समेत महत्वपूर्ण हुन्छ । भद्रपुर–१० निवासी कृषि ज्ञान केन्द्र इलामका निमित्त प्रमुख शालिकराम भट्टराई गाउँघरमा धेरै मानिस सक्रिय भएर खेतीपातिमा लागेको बताउनुहुन्छ ।
“मेरै छिमेकमा पनि धेरै मानिसले करेसाबारीमा विभिन्न प्रकारका सागसब्जी लगाइरहेको देखिरहेको छु”, उहाँले भन्नुभयो, “यो एउटा सकारात्मक कुरा हो ।” घरमै चाहिने सागसब्जी आफैँ उत्पादन गर्न सके पैसाको बचतसँगै शारीरिक व्यायाम पनि हुने उहाँको भनाइ छ ।
मानिसमा सचेतना बढेसँगै स्थानीयस्तरमा उत्पादित तरकारीको खपत बढेको छ र भारतबाट आयात गरिएका तरकारी कम रुचाउने गरेको उहाँको अनुभव छ । अहिलेको सिजनअनुसार भिन्डी, फर्सी र लौकालगायत तरकारी लगाउन उपयुक्त हुने उहाँले बताउनुभयो ।
अहिले लकडाउनका बेला बीउबिजनका पसल अत्यावश्यक वस्तुका रुपमा बेला–बेलामा खोल्न दिइनुपर्ने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मानिसले धमाधम खेत तयार पारे तर बीउ पाइएन भने त्यसको कुनै अर्थ हुँदैन ।” मल र बीउ सहजरुपमा पाइने वातावरण सिर्जना गर्न आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।
अहिले धेरै मानिस करेसाबारी बनाउन लागेका छन् । यसलाई लकडाउनको एउटा सकारात्मक पाटोका रुपमा लिन सकिन्छ । सङ्कट जति बेला पनि आउन सक्छ र आफूलाई चाहिने सागसब्जी आफैँ उत्पादन गर्नुपर्ने रहेछ भन्ने चेत पलाउँदै गएको छ, यो एउटा सकारात्मक पक्ष हो ।
रासस