वैशाख २७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सीता जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छिन् । मंगलबार राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै राजर्षी जनककी छोरी एवं नेपाल भूमिकी गरिमामयी पुत्री, राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसका अवसरमा शुभकामना दिएकी हुन् ।
प्राचीन मिथिलाको केन्द्र मानिएको जनकपुरसहित देशभरिका राम, जानकी मन्दिरमा प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजाअर्चनासहित सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ । माता सीताको आदर्शबाट प्रेरित वैदिक समाज र त्यस बखतको राज्य सञ्चालन प्रक्रियामा मातृ शक्तिको भूमिकाले हाम्रो समृद्ध प्राचीन सभ्यताको परिचय दिन्छ ।
त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञको अनुष्ठान गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणमा गरिएको छ ।