web image
साउन २७ ,काठमाडौं । शिक्षा मन्त्री सस्मित पोखरेलकी पत्नी सुस्मिता अधिकारीको तस्बिर प्रयोग गरी सामाजिक सञ्जालमा बनाइएका व्यंग्यात्मक ‘मिम’ले महिलामाथि हुने डिजिटल दुर्व्यवहारबारे बहस निम्त्याएको छ।
सरकारको कामकारबाहीप्रति व्यंग्य गर्न अधिकारी र पोखरेलको करिब पाँच महिनाअघिको निर्वाचन प्रचारको भिडियोबाट निकालिएको तस्बिरलाई पछिल्ला विभिन्न घटनासँग जोडेर प्रयोग गरिएको छ। फेसबुक, टिकटक, रेडिट र इन्स्टाग्राममा अधिकारीलाई बौद्धिक रूपमा कमजोर देखाउने किसिमका सामग्री फैलिएका छन्।
महिला अधिकारकर्मीहरूले सरकारको आलोचना गर्ने अधिकार भए पनि त्यसका लागि मन्त्रीको सट्टा उनकी पत्नीलाई निशाना बनाउनु पितृसत्तात्मक र महिलाविरोधी प्रवृत्ति भएको बताएका छन्।
अधिकारकर्मी सावित्री गौतम, कविता बाहिङ तथा राजनीतिक विश्लेषक सुचेता प्याकुरेलले यस्ता सामग्रीलाई सामान्य हास्यका रूपमा मात्र नहेरी त्यसमा रहेको लैंगिक पूर्वाग्रह र डिजिटल हिंसाको पक्षलाई बुझ्नुपर्ने बताएका छन्।
विश्लेषक प्याकुरेलका अनुसार सुस्मिता अधिकारी पितृसत्ताको दोहोरो मारमा परेकी छन्—पहिले राजनीतिक ब्रान्डिङमा गौण भूमिकामा प्रस्तुत हुनु र अहिले त्यही तस्बिरमार्फत सामाजिक सञ्जालमा व्यक्तिगत तथा बौद्धिक आक्रमणको सामना गर्नु।
नेपालमा महिला सार्वजनिक व्यक्तित्वलाई राजनीतिक विवादमा तान्ने प्रवृत्ति नयाँ नभएको भन्दै अधिकारकर्मीहरूले डिजिटल माध्यममा पनि लैंगिक संवेदनशीलता कायम गर्नुपर्नेमा जोड दिएका छन्।
Share this with your friends: