भदौ १२ , काठमाडौं । विनाशकारी बाढीपछि रसुवामा ठूलो मानवीय क्षति भएको अवस्थामा पहिचान हुन बाँकी शवको व्यवस्थापनबारे सही सूचना प्रवाह गर्न आग्रह गरिएको छ। कठिन भौगोलिक अवस्था, अस्थिर जमिन, लेदो तथा गेग्रान, अवरुद्ध सडक र प्रतिकूल मौसमका बीच खोज, उद्धार, राहत तथा शव संकलनको काम जारी रहेको छ।
बाढीले शवहरूलाई लामो दूरीसम्म बगाएको र कतिपय शव तीन–चार दिनसम्म पानी तथा लेदोमा रहेकाले शरीर फुल्ने तथा कुहिने अवस्था देखिएको छ। यस्तो अवस्थामा अनुहारबाट पहिचान गर्न कठिन हुनुका साथै शरीरको तौल र अवस्था परिवर्तन हुँदा शव उठाउन, सुरक्षित स्थानमा सार्न र व्यवस्थापन गर्नसमेत चुनौती भएको छ।
पहिचान नभएका शवलाई डीएनए वा जैविक पहिचानका माध्यमबाट पुष्टि गरेर परिवारको जिम्मा नलगाएसम्म शीतगृहमा सुरक्षित राख्नुपर्ने अपेक्षा स्वाभाविक भए पनि ठूलो संख्यामा शवका लागि पर्याप्त शीतगृह उपलब्ध गराउनु चुनौतीपूर्ण बनेको हो।
शवलाई शीतगृहमा राख्नु मात्र पर्याप्त नहुने भएकाले त्यसका लागि पर्याप्त स्थान, उपयुक्त तापक्रम, निरन्तर विद्युत् आपूर्ति, वैकल्पिक विद्युत् व्यवस्था, सुरक्षित ढुवानी तथा नियमित निगरानी आवश्यक हुन्छ। तर बाढीका कारण सडक, विद्युत् र अन्य पूर्वाधार प्रभावित भएकाले लामो समयसम्म यस्तो व्यवस्था कायम राख्न कठिनाइ हुन्छ।
त्यसैगरी, शवको अवस्था बिग्रिँदै जाँदा औँठाछापका रेखा नष्ट हुनसक्ने भएकाले जैविक पहिचानका केही विधि पनि कठिन बन्न सक्ने हुन्छ।
यस्तो अवस्थामा विश्व स्वास्थ्य संगठनलगायत अन्तर्राष्ट्रिय विपद् व्यवस्थापनसम्बन्धी मार्गदर्शनअनुसार पहिचानसम्बन्धी प्रमाण सुरक्षित राख्दै शवलाई पहिचानयोग्य रूपमा अस्थायी रूपमा गाड्ने विधि अपनाउने निर्णय गरिएको छ।
यो प्रक्रिया अन्तिम संस्कार नभएको स्पष्ट पारिएको छ। प्रत्येक शवलाई छुट्टै विशिष्ट पहिचान नम्बर प्रदान गरिनेछ। शव कहाँ र कहिले फेला परेको हो भन्ने विवरण, तस्बिर, कपडा, गहना, व्यक्तिगत सामग्री तथा उपलब्ध औँठाछाप वा जैविक पहिचानसम्बन्धी विवरण सुरक्षित राखिनेछ। आवश्यक परे डीएनए तथा अन्य न्यायिक प्रमाणसमेत संकलन गरिनेछ।
कुन पहिचान नम्बर भएको शव कहाँ राखिएको छ भन्ने विवरणसमेत अभिलेखमा सुरक्षित राखिनेछ। भविष्यमा डीएनए, औँठाछाप, दाँतसम्बन्धी विवरण, चिकित्सकीय अभिलेख वा अन्य वैज्ञानिक प्रमाणका आधारमा पहिचान खुलेमा शव पुनः निकालेर परिवारलाई हस्तान्तरण गर्न सकिने छ।
यसरी परिवारले पहिचानपछि आफ्नै धर्म, संस्कार र परम्पराअनुसार अन्तिम संस्कार गर्न पाउने अधिकार सुरक्षित रहने छ।
अन्तिम संस्कार र अस्थायी व्यवस्थापनबीचको भिन्नता स्पष्ट पार्दै हतारमा दाहसंस्कार गर्दा भविष्यमा वैज्ञानिक परीक्षणमार्फत पहिचान गर्ने र परिवारलाई शव हस्तान्तरण गर्ने सम्भावना समाप्त हुनसक्ने बताइएको छ। त्यसैले पहिचान नभएका शवको सामूहिक दाहसंस्कार गर्ने निर्णय नगरिएको छ।
ठूलो संख्यामा शव लामो समयसम्म पानी, हिलो वा खुला वातावरणमा रहँदा खानेपानी तथा वरपरको वातावरण दूषित हुनसक्ने र दुर्गन्ध फैलिनुका साथै रोग तथा महामारीको जोखिमसमेत बढ्न सक्ने भएकाले व्यवस्थित व्यवस्थापन आवश्यक रहेको छ।
सरकारले विपद्को यस संवेदनशील अवस्थामा धार्मिक तथा सांस्कृतिक भावनालाई सम्मान गर्दै वैज्ञानिक प्रमाणका आधारमा शवको पहिचान सुरक्षित राख्ने प्रयास भइरहेको छ।
बाढीपछि उत्पन्न यस्तो गम्भीर अवस्थामा अपुष्ट सूचना तथा अफवाह फैलाउनुको सट्टा आधिकारिक र सही सूचना प्रवाहमा सहयोग गर्न सबैलाई आग्रह गरिएको छ।