web image
भदौ १२ , काठमाडौं । चीनको तिब्बतबाट बुधबार आएको विनाशकारी बाढीले रसुवाका धुन्चे, स्याफ्रुबेसी, टिमुरे र रसुवागढी क्षेत्रलाई ठूलो क्षति पुर्याएको छ। बाढीले सडक तथा पुललगायतका संरचना बगाएपछि प्रभावित क्षेत्रमा उद्धार र राहत पुर्याउनसमेत कठिनाइ भएको स्थानीयले बताएका छन्।
गोसाईंकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार बाढीबाट भएको मानवीय क्षतिको यकिन विवरण अझै संकलन हुन सकेको छैन। सडक मार्ग पूर्ण रूपमा क्षतिग्रस्त भएकाले प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन समस्या भइरहेको उनले बताए।
गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने जिल्ला सदरमुकाम धुन्चेमा समेत जनधनको क्षतिको यकिन विवरण आउन सकेको छैन। वडाध्यक्ष दावा सिदार वाइबाका अनुसार बाढीबाट बचेका ३८ जनालाई धुन्चेस्थित अस्थायी आश्रयस्थलमा राखिएको छ। केहीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं तथा अन्य सुरक्षित स्थानमा लगिएको छ।
यस्तै, वडा नम्बर ५ अन्तर्गत पर्ने स्याफ्रुबेसीमा करिब ४ सय घर बाढीले बगाएको अनुमान गरिएको छ। वडा सदस्य कामी छिरिङ तामाङका अनुसार दुई सयभन्दा बढी मानिस सम्पर्कविहीन छन्। प्रभावितले पर्याप्त राहत पाउन नसकेको र सेनाले उपलब्ध गराएको चाउचाउलगायतका सामग्रीकै भरमा बस्नुपरेको उनले बताए।
रसुवाबाट प्रतिनिधिसभा सदस्य मोहन आचार्यका अनुसार घट्टखोला, घट्टकोलो, टिमुरे, रसुवागढी र स्याफ्रुबेसी बजार बाढीबाट अत्यन्त प्रभावित भएका छन्। सडक सम्पर्क विच्छेद भएकाले स्थलमार्गबाट राहत पुर्याउन नसकिएको र हवाई माध्यमबाट मात्रै राहत पुर्याउनुपर्ने अवस्था रहेको उनले बताए।
आचार्यले राजधानीसँग जोडिने सडक सञ्जालसमेत टुटेकाले उद्धारपछि प्रभावित क्षेत्रको व्यवस्थापन र सडक सम्पर्क पुनःस्थापना गर्नु अहिलेको मुख्य चुनौती बनेको बताए। राज्यका निकायसँगै सबै पक्षको समन्वय आवश्यक रहेको उनको भनाइ छ।
स्थानीय जनप्रतिनिधिले सम्पर्कविहीन नागरिकको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा सडक सम्पर्क पुनःस्थापनाका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेका छन्।
Share this with your friends: