साउन ११ , काठमाडौ । रश्मी रिजालको मृत्यु प्रकरणमा सानिमा क्यापिटलमाथि प्रहरीले औपचारिक अनुसन्धान सुरु गरेको छ। घटनासँग जोडिएका विभिन्न शंकास्पद गतिविधिहरू बाहिरिएपछि अनुसन्धानको दायरा कम्पनीतर्फ समेत विस्तार गरिएको हो।
प्रहरी स्रोतका अनुसार रश्मी बेपत्ता भएको केही घण्टामै सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृतसहितको टोली उनको निवासमा पुगेको र ल्यापटप तथा कागजातहरू खोजतलास गरेको तथ्य बाहिरिएपछि अनुसन्धान थप गहिरिएको छ। यो घटनाक्रमलाई परिवारले अत्यन्त अस्वाभाविक भन्दै किटानी जाहेरी दर्ता गराएको छ।
परिवारजनले उठाएको प्रश्न स्पष्ट छ— कुनै कर्मचारी सम्पर्कविहीन हुँदा कम्पनीका प्रतिनिधिहरूले प्रहरीको औपचारिक उपस्थितिविना निजी घरमा पुगेर सामग्री खोज्नु किन आवश्यक भयोरु यसले कम्पनीको भूमिकामाथि गम्भीर शंका उत्पन्न गरेको छ।
कानुनी विज्ञहरूका अनुसार यस्तो गतिविधि प्रचलित कानून र प्रक्रियासँग मेल नखाने हुन सक्छ। निजी सम्पत्तिमा प्रवेश गरी खोजतलास गर्न प्रहरीको अनुमति वा अदालतको आदेश आवश्यक पर्ने भएकाले कम्पनीको कदम अनुसन्धानको केन्द्रमा परेको छ।
प्रहरीले रश्मीको मोबाइल विवरण, अन्तिम सम्पर्क, कार्यस्थलको अवस्था तथा कम्पनीसँगको सम्बन्धलाई समेत गहन रूपमा केलाइरहेको जनाएको छ। यसैबीच, सानिमा क्यापिटलका सम्बन्धित अधिकारीहरूसँग सोधपुछ गर्ने तयारी भइरहेको छ।
यस प्रकरणले कार्यस्थलमा कर्मचारी सुरक्षा, विशेषगरी महिला कर्मचारीहरूको संरक्षण र गोपनीयताको विषयलाई पुनः बहसमा ल्याएको छ। सरोकारवालाहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
प्रहरीले तथ्य र प्रमाणका आधारमा छिट्टै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेको छ भने परिवारले न्यायका लागि अन्तिमसम्म लड्ने अडान दोहोर्याएको छ।