भदौ ७ , काठमाडौं । शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘मिस मेनुका स् एक संवेदनशील यौनकर्मी’ को मञ्चन अवधि एक हप्ता थप गरिएको छ। थप अवधिसँगै नाटक अब भदौ १३ गतेसम्म मञ्चन हुने भएको छ।
फ्रान्सेली नाटक ला पे‘ रेस्पेक्टुअज को नेपाली रूपान्तरणका रूपमा तयार गरिएको नाटक गत साउन १३ गतेदेखि नियमित मञ्चन हुँदै आएको हो। नाटकको मुख्य सर्जक झाँ पल सार्त्र हुन् भने नेपाली रूपान्तरण कल्पना घिमिरे नुरिस्साँले गरेकी छन्। नाटकको निर्देशन पवित्रा खड्काले गरेकी हुन्।
नाटकले यौनकर्मी महिलामाथि हुने सामाजिक विभेद, अन्याय र शक्तिको दुरुपयोगको कथा प्रस्तुत गर्छ। कथाकी मुख्य पात्र मेनुका बसमा यात्रा गर्ने क्रममा एउटा घटनाको प्रत्यक्षदर्शी बन्छिन्।
घटनामा संलग्न प्रभावशाली व्यक्तिहरूले वास्तविक अपराधीलाई जोगाउन निर्दोष व्यक्तिलाई फसाउने प्रयास गर्छन्। त्यसक्रममा मेनुकामाथि निर्दोष व्यक्तिले आफूलाई बलात्कार गर्न खोजेको झूटो आरोप लगाउन दबाब दिइन्छ।
प्रहरीसमेत प्रभावशाली व्यक्तिहरूकै पक्षमा उभिएर मेनुकालाई झूटो बयान दिन दबाब दिन्छ। तर घटनामा निर्दोष ठहरिने व्यक्ति आफ्नो ज्यान जोगाउन मेनुकासँग सहयोग माग्न पुगेपछि कथाले नयाँ मोड लिन्छ।
यौनकर्मी महिलाको दृष्टिकोणबाट न्याय, शक्ति, सामाजिक पूर्वाग्रह र सत्यका लागि संघर्षलाई प्रस्तुत गर्ने नाटकले दर्शकमाझ सामाजिक प्रश्नसमेत उठाएको छ।
नाटकमा सरिता गिरी, युवराज घिमिरे, रूपेश मण्डल, प्रभाकर देव शर्मा, धनराज सुनार र गोविन्दलगायत कलाकारले अभिनय गरेका छन्।