साउन १४, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बाघको सङ्ख्या बढेसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नतर्फ ध्यानार्कषण गराएकी छन् । हिजो विश्व बाघ दिवसको शुभकामना दिँदै उनले बाघको सङ्ख्यासँगै मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट मानिसको मृत्यु हुने घटना वृद्धि भएकोप्रति चिन्ता व्यक्त गरेकी हुन् ।उनले दिवसका अवसरमा वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नतर्फ सम्बद्ध पक्षको ध्यानार्कषण गराइन् ।
पूर्वराष्ट्रपति भण्डारीले बाघको संरक्षण नेपालको पर्यटन प्रवद्र्धन एवं आर्थिक विकासका लागि महत्त्वपूर्ण भएको भन्दै संरक्षणका उचित उपाय अवलम्बन गर्न र त्यसलाई निरन्तरता दिन आह्वान गरेकी छन् ।
नेपालले लक्ष्यभन्दा बढी बाघको सङ्ख्या वृद्धि गरी हाल तीन सय ५५ पुर्याउन सफल भएको जनाउँदै उनले बाघको संरक्षणमा सम्बद्ध सबैलाई थप प्रेरणाका लागि शुभकामनासमेत व्यक्त गरेकी छन् ।
विश्वका १३ देशमा मात्र पाइने पाटेबाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले सकारात्मक पहिचान निर्माण गर्नु गौरवको विषय हो ।