वैशाख १३,पोखरा चिप्लेढुङ्गा । महानगरको वडा नं ७ मासबार शान्तिनगर बैङ्क्यूटमा बिहानैदेखि एक टोली खाना बनाउनमा व्यस्त देखिन्छन् । त्यसैगरी अर्को टोली खाना प्याकिङमा जुट्छन् । हप्ता दिन अघिदेखिको नियमित दिनचर्या बनेको छ । यसरी सक्रिय रहने पौरखी स्वयंमसेवी समूह हुन् । वैशाख ६ गतेदेखि स्वतःस्फूर्त जुटेर मानवीय सेवा र उद्धारमा सक्रिय बनेको छ यो समूह ।
कोभिड–१९ को महामारी छ । देश लकडाउन भएको एक महिना बित्यो । आफ्नो गाउँघर जान नपाएका, सडकमै अलपत्र परेकालाई पौरखी समूहले निःशुल्क खाना खुवाउँदै आएको छ । खानाका लागि विभिन्न सङ्घसंस्थाले स्वतःस्फूर्त सहयोग गर्दै आएका छन् । “सडकमा बस्दै आएका, घरमा खाने समस्या भई भोकै बस्नुपर्ने अवस्था भएकालाई र गन्तव्यसम्म जाँदै गरेका सर्वसाधारणलाई खाना खुवाउँदै आएका छौँ”, समूहका अध्यक्ष जनक पराजुलीले भन्नुभयो । वैशाख ६ गतेदेखि शुरु गरिएको यस भोजन वितरण १३ गतेसम्म आइपुग्दा ११ हजार ६३१ जनालाई खाना खुवाइसकिएको उहाँको भनाइ छ । पोखरा महानगरपालिकासँग स्वीकृति लिएर पौरखी समूहले यस कार्यलाई सञ्चालन गरेको हो ।
घरमा चुल्हो बल्न छाडेको अवस्थामा समूहको कुनै पनि सदस्यलाई जानकारी गराए वा खबर गरे पीडित भएकै ठाउँमा समूहले खाना पु¥याउँदै आएको समूहका सदस्य राजु शर्माले बताउनुभयो । उहाँका अनुसार बिहान र साँझ दुई पटक बिहान ८ देखि १० बजेसम्म र साँझ ५ बजेदेखि खाना पु¥याउने गरिएको छ । दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएकादेखि घर जान हिँडेका बाटोमा हिँड्ने बटुवालाई बन्दाबन्दीका कारण भोको पेट बस्नु पर्ने र हिँड्नु पर्ने बाध्यतालाई ध्यान दिएर समूहले खाना खुवाउँदै आएको हो । यस अभियानका लागि सहयोगीदाता र सहयोगी मन दिनदिनै थपिँदै गएका छन् । सहयोगीदाताबाट सकेसम्म नगद नभई जिन्सी सहयोग लिन गरेको शर्माले बताउनुभयो ।
रासस
Share this with your friends: