भदौ २२, काठमाडौं । भारतको गाजियाबाद प्रहरीले महिला सुरक्षा र अधिकारबारे जनचेतना बढाउन ५९१ महिलाको ‘महिला स्वयंसेवक बल’ गठन गरेको छ।
विभिन्न पेशामा आबद्ध चिकित्सक, अधिवक्ता, शिक्षक, सामाजिक कार्यकर्ता, गृहिणी, परामर्शदाता तथा उद्यमी महिलाहरू स्वयंसेवक समूहमा सहभागी भएका छन्। प्रहरीका अनुसार यो समूहले महिला तथा बालिकाका समस्या प्रहरीसमक्ष पुर्याउने र महिला सुरक्षा तथा कल्याणसम्बन्धी गतिविधिमा सहकार्य गर्नेछ।
गाजियाबादकी महिला तथा अपराधसम्बन्धी एसीपी सुचिता सिंहका अनुसार विजय नगरबाट सबैभन्दा धेरै ४२ महिला स्वयंसेवकमा जोडिएका छन्। त्यसपछि टिला मोडबाट ३९ र इन्दिरापुरमबाट २५ जना सहभागी भएका छन्।
स्वयंसेवकहरूले महिलालाई सरकारी योजना तथा सहयोग प्रणालीबारे जानकारी दिने, आवश्यक परे परामर्शदाता र अन्य सहयोगी निकायसँग जोड्ने तथा महिला अधिकार र साइबर सुरक्षासम्बन्धी जनचेतना कार्यक्रममा सहकार्य गर्नेछन्।
प्रहरीका अनुसार प्रहरी र स्थानीय महिलाबीचको यो सञ्जालले महिला सुरक्षासम्बन्धी समस्या पहिचान तथा समाधानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।