साउन ९, काठमाडौं । फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको मंगलबार खेलिएको खेलमा कोलम्बियाले एसियाली राष्ट्र दक्षिण कोरियामाथि २—० गोलको सजिलो जित हासिल गरेको छ ।
पराजयका बाबजुद उक्त खेलमा दक्षिण कोरियाकी एक खेलाडीले कीर्तिमान बनाएकी छन् ।
समूह ‘एच’ अन्तर्गतको उक्त खेलमा कोलम्बियाले दुवै गोल पहिलो हाफमा गरेको हो ।
समूहमा जर्मनी तीन अङ्कसहित पहिलो र कोलम्बिया तीन अङ्कसहित दोस्रो स्थानमा छन् । आफ्नो पहिलो खेलमा जर्मनीले मोरक्कोलाई ६—० गोलले हराएको थियो ।
१६ वर्षीय खेलाडी क्यासी फाइरले यस खेलमा दक्षिण कोरियाकी इतिहास रचेकी छन् । उनी दक्षिण कोरियाली आमा र अमेरिकी बुवाकी सन्तान हुन् । उनी दक्षिण कोरियाको राष्ट्रिय फुटबल टोलीबाट विश्वकप खेल्ने पहिलो वहुजातीय खेलाडी बनेकी छन् ।
यसअघि दक्षिण कोरियाको पुरुष राष्ट्रिय फुटबल टोलीमा पनि वहुजातीय खेलाडीले स्थान पाएका थिएनन् । क्यासी दक्षिण कोरियाको राष्ट्रिय फुटबल टोलीमा स्थान बनाउने सबैभन्दा कम उमेरकी खेलाडी पनि हुन् ।