भदौ १९ , काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद शोभा खनालले भोटेकोशी बाढीबाट प्रभावितहरूको पुनर्स्थापनाका लागि सरकारले गम्भीरतापूर्वक काम अघि बढाउनुपर्ने बताएकी छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खनालले राहतले मात्रै बाढीपीडितको समस्या समाधान नहुने बताइन्। तत्कालको आवश्यकता राहतबाट पूरा भए पनि पीडितको दीर्घकालीन जीवन सुरक्षित बनाउने जिम्मेवारी राज्यको भएको उनको भनाइ थियो।
उनले पूर्ण रूपमा क्षति भएका घरपरिवारलाई सुरक्षित र व्यवस्थित आवासको व्यवस्था गर्न, जीविकोपार्जनका अवसर सुनिश्चित गर्न तथा बालबालिकाको शिक्षा र स्वास्थ्य सेवाको निरन्तरता कायम गर्न सरकारको स्पष्ट योजना आवश्यक रहेको बताइन्।
त्यस्तै, क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा सञ्चारलगायत भौतिक संरचनाको शीघ्र पुनर्निर्माण गर्नुपर्नेमा उनले जोड दिइन्। बाढी तथा पहिरोको उच्च जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा पुनर्वास गर्नुपर्ने उनको भनाइ थियो।
बाढीपीडितका लागि सरकारी कोषमा जम्मा भएको रकम वास्तविक क्षतिको आधारमा पारदर्शी र प्रभावकारी ढंगले पुनर्स्थापना तथा पुनर्निर्माणमा खर्च गर्न स्पष्ट नीति र योजना बनाउनुपर्ने सांसद खनालले बताइन्।
अब निर्माण हुने संरचना विगतका भन्दा अझ सुरक्षित र विपद् प्रतिरोधी हुनुपर्नेमा जोड दिँदै उनले पुनर्निर्माणलाई दीर्घकालीन सुरक्षासँग जोड्न सरकारको ध्यानाकर्षण गराइन्।
गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्ला प्रभावित भएका छन्।
Share this with your friends: