साउन २५, झापा । उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका मेचीनगर–१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतबार उद्धार गरेर नेपाल ल्याइएको छ ।
आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन १५ गते उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट अस्पतालमा लगिएको थियो । शिशुको अवस्था बुझ्न गएका पत्रकार मोहन काजीले उपचारमा लागेको खर्च १५ दिनभित्र तिर्ने कागजमा सही गरेपछि अस्पतालले सुहानकी आमा शर्मिला चौधरीलाई शिशु फिर्ता दिएको थियो । अक्सिजन सपोर्टसहित एम्बुलेन्समा नेपाल ल्याइएको शिशुलाई आइतबार राति नै थप उपचारका लागि बिर्तामोडको बिएन्डसी अस्पतालमा भर्ना गरिएको छ । बिर्तामोडका केही निजी अस्पतालले बच्चालाई राख्ने आईसीयू कक्ष नभएको भन्दै शिशुलाई फर्काइदिएपछि बिएन्डसी अस्पताल लगिएको थियो ।
सिलिगुडीको अस्पतालले उपचारमा लागेको छ लाख ८०० भुक्तानी नगरेसम्म बच्चा लैजान नदिने भन्दै शिशुलाई बन्धक बनाउँदै आएको थियो । अस्पतालले उपचारमा चार लाख ६८ हजार र औषधितर्फ एक लाख ३२ हजार ८०० बिल देखाएको छ । शिशुकी आमा शर्मिलाले पारामाउन्ट अस्पतालमा अहिलेसम्म दुई लाख ८८ हजार बुझाइसकेको बताइन् । अब सो अस्पताललाई तीन लाख १२ हजार बुझाउन बाँकी छ । “चौधरी परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा छुट गरेर बच्चा फिर्ता दिन धेरै आग्रह गर्यौं, तर अस्पतालले मानेन,” शिशु फिर्ता गराउन रकम तिर्ने कागजमा सही गरेका पत्रकार काजीले भने, “अरु केही उपाय नलागेपछि १५ दिनभित्र रकम बुझाउने कबुलियतनामामा सही गरेर शिशुको उद्धार गरेका छौँ ।” उपचारको रकम असुल्न आमाबुबालाई घर पठाएर चार महिनाको शिशुलाई बन्धक बनाएर दैनिक बिल बढाउने अमानवीय कार्य सो अस्पतालले गरेको पत्रकार काजीले बताए । अस्पतालका वरिष्ठ व्यवस्थापक पिन्टु रुस्तागीले तोकिएको समयमै बक्यौता नबुझाएमा घरसम्मै रकम असुल्न आउने चेतावनी दिँदै नागरिकता प्रमाणपत्रको प्रतिलिपिसमेत राखेको उनले बताए ।
अस्पतालले बच्चा फिर्ता दिँदा अक्सिजन सपोर्टमै राखिएको थियो । शल्यक्रिया गरेपछि पेट तथा पिसाब नलीमा लगाइएको पाइप नखुस्काइएका कारण बच्चाको अवस्था अझै पनि गम्भीर छ । गरिबीका कारण नेपालमा भइरहेको उपचारको खर्चसमेत बेहोर्न सक्ने चौधरी परिवारसँग आर्थिक क्षमता छैन । शर्मिलाले उपचारमा आर्थिक सहयोग गरेर आफ्नो शिशुको जीवनरक्षा गरिदिन दातासँग अपिल गरेकी छिन् । भारत जानुअघि नेपालका विभिन्न अस्पतालमा शिशुको उपचार गराउँदा ५० हजार खर्च भएको उनले बताइन् । अस्पतालमा अहिलेसम्म परिवारले बुझाएको दुई लाख ८८ हजारमध्ये ५४ हजार चन्दा सङ्कलनबाट जुटेको र बाँकी रकम परिवारले ऋण काढेर ल्याएको हो । - रासस
वैशाख २२,काठमाडौं । अभिनेत्री नीति शाह सर्वश्रेष्ठ डेब्यु अभिनेत्री घोषित भएकी छन् ।...
वैशाख २२,काठमाडौं । महानगरपालिकाले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गर्ने �...
वैशाख २२,काठमाडौं । गोरखाको गण्डकी गाउँपालिका–२ दलभञ्जयाङकी ४२ वर्षीया तिलमाया...
वैशाख २१,काठमाडौं । मृत भेटिएकी नेपाली छात्रा प्रिसा साहका बुबाले घटनाको निष्पक्ष छानबिनको...
वैशाख १९,काठमाडौं । १३ वर्षीय किशोरलाई लिएर भागेकी एक शिक्षिकाको बयानले शिक्षक र...
वैशाख १९,काठमाडौं । सांसद माया राईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले...
वैशाख १९,काठमाडौं । करिब चार महिनादेखि काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक बस्न...
वैशाख १९,काठमाडौं । सरकारले खोप लगाउन छुट भएका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१...
वैशाख १९,काठमाडौं । केदारनाथ धामको ढोका आज (शुक्रबार) देखि खुल्ने भएकाले भक्तजनको यात्राका...