भदौ ११ , काठमाडौं । भारतको राष्ट्रिय सुरक्षा गार्डले महिला प्रहरी तथा केन्द्रीय सशस्त्र प्रहरी बलमा कार्यरत महिलालाई लक्षित गर्दै पहिलो ‘महिला कमान्डो रूपान्तरण तालिम’ सुरु गरेको छ।
हरियाणाको मानेसरस्थित राष्ट्रिय सुरक्षा गार्ड प्रशिक्षण प्रतिष्ठानमा अगस्ट २४ देखि सुरु भएको १२ हप्ते आवासीय तालिममा महिला सुरक्षाकर्मीलाई आतंकवादविरोधी कारबाही, शारीरिक क्षमता, हतियार सञ्चालन, निशानेबाजी, रणनीतिक हस्तक्षेप तथा बन्धक उद्धार लगायतका जोखिमपूर्ण कार्यका लागि प्रशिक्षण दिइनेछ।
तालिम नोभेम्बरसम्म सञ्चालन हुनेछ। तालिम पूरा गरेपछि सहभागी महिलाहरू राष्ट्रिय सुरक्षा गार्डमै रहने छैनन्। उनीहरू आफ्नै प्रहरी तथा सशस्त्र सुरक्षा निकायका इकाइमा फर्किएर प्राप्त सीप प्रयोग गर्नेछन्।
यस कार्यक्रमको उद्देश्य सुरक्षा क्षेत्रमा महिलाको सहभागिता बढाउनु मात्र नभई उनीहरूलाई विशेष कमान्डो सीप प्रदान गरी राज्य तथा केन्द्रीय सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्नु रहेको राष्ट्रिय सुरक्षा गार्डले जनाएको छ।
राजस्थानबाट मात्रै राजस्थान सशस्त्र प्रहरीको पाँचौँ बटालियनका २५ जना महिला सुरक्षाकर्मी पहिलो समूहमा सहभागी भएका छन्।