पुष २९, काठमाडौं । २८ पुस, नयाँ दिल्ली । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले उज्बेकिस्तानमा कम्तीमा २० जना बालबालिकाको मृत्युका लागि जिम्मेवार ठहरिएका भारतमा उत्पादित ‘कफ सिरप’को प्रयोग नगर्न आग्रह गरेको छ ।
डब्लुएचओले भारतको मेरियन बायोटेकले उत्पादन गरेका यी उत्पादनहरू ‘गुणस्तरहीन’ भएको र कम्पनीले उनीहरूको ‘सुरक्षा र गुणस्तर’ को बारेमा सुनिश्चितता प्रदान गर्न असफल भएको बताएको छ ।
कम्पनीले बनाएको ‘डक–१ म्याक्स’ नामको खोकी रोक्ने झोल औषधि खाँदा कम्तीमा २० बालबालिकाको मृत्यु भएको उज्बेकिस्तानका अधिकारीहरूले गत महिना बताएपछि भएको अनुसन्धानपछि बुधबार यो चेतावनी जारी गरिएको हो ।
त्यसपछि भारतको स्वास्थ्य मन्त्रालयले उक्त कम्पनीको उत्पादन रोकेको थियो भने उज्बेकिस्तानले ‘डक–१ म्याक्स’को आयात र बिक्रीमा प्रतिबन्ध लगाएको थियो ।