जेठ १०, काठमाण्डौ । शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएकी भक्तपुरकी ४२ वर्षीया महिला वडासदस्य रहेको खुलासा भएको छ।
भक्तपुर नगरपालिका वडा नंं ९ की वडासदस्य ती महिला कोरोनाका कारण जारी गरिएको लकडाउनका कारण समस्यामा परेकाहरुलाई वडाका तर्फ राहत वितरण टोलीमा सक्रिय भएर खटिएको पाइएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए। ‘राहात वितरणकै क्रममा कसैबाट उनलाई यो संक्रमण सरेको हुन सक्छ’, उनले भनिन्, ‘अब उनीबाट यो संक्रमण अन्यलाई सरेको हुन सक्छ, त्यसैले आजैबाट कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारीमा छौँ, उनीसँग सम्पर्कमा आएका सबैको पहिचान गरी पीसीआर परीक्षण पनि गर्नेछौँ।’
संक्रमित वडासदस्यलाई पाटन अस्पताल लगिएको छ। उनका पति र दुई छोराछोरी छन्।
स्वास्थ्य मन्त्रालयले हिजो राति सार्वजनिक गरेको पछिल्लो अपडेटमा भक्तपुरकी ती वडासदस्यसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यीसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ। जसमा सिन्धुपाल्चोककी एक महिला तथा बाँके र गुल्मीका एकरएकजना पुरुष गरी तीजनाको मृत्यु भइसकेको छ। निको भएर घर फर्किनेको संख्या पनि ७० पुगेको छ।