बैशाख १०, काठमाण्डौ । सरकारले लकडाउनको स्वरुप परिवर्तन गर्ने भएको छ।
पछिल्लो पटक बैशाख १५ गतेसम्म लकडाउन लम्ब्याइएको छ । यो समयपछि पनि लकडाउन लम्बिने, तर स्वरुप परिवर्तन हुने एक मन्त्रीले जानकारी दिएका छन् ।
स्वास्थ्य मन्त्रालयका विज्ञहरुले समेत सरकारलाई लकडाउनको स्वरुप परिवर्तन गर्न सुझाव दिइसकेका छन् । विज्ञबाटै यस्तो सुझाव आएपछि यसैका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको स्वरुप परिवर्तन गर्ने पटक पटक संकेत दिइसकेका छन् ।
केही दिनअघि सरकारी स्वामित्वका संचारमाध्यमहरुलाई अन्तर्वार्ता दिने क्रममा उनले आन्तरिक लकडाउन केही खुकुलो हुनसक्नेतर्फ संकेत गर्दै भनेका थिए(ुसीमा नाका र अन्तराष्टिय उडानको प्रतिबन्ध भने तत्काल हट्दैन । भारतमा कोरोना भाइरस संक्रमणको अवस्था हेरेर मात्र सीमा नाकाको विषयमा निर्णय हुनेछ ।ु
प्रधानमन्त्रीले यो कुरा स्वास्थ्य विज्ञहरुको सल्लाह प्राप्त भएपछि गरेका स्रोत दाबी गर्छ ।
विश्वका कतिपय कोरोना संक्रमित देशहरुले समेत लकडाउनको स्वरुप परिवर्तन गरी कतिपय क्षेत्रमा खुकुलो बनाइरहेको बेला संक्रमणको अवस्था सामान्य रहेको नेपालमा सबै क्षेत्रमा एकै ढंगले लकडाउन गर्न नहुने स्वास्थ्य विज्ञहरुले सरकारलाई सुझाव दिइरहेका छन् । प्रधानमन्त्री समेत यो विषयमा सकारात्मक रहेका छन् ।
नेपालको तुलनामा संक्रमणको अवस्था जटिल रहेको भारत सरकारले समेत २० अप्रीलपछि कतिपय क्षेत्रमा लकडाउनलाई केही खुकुलो बनाइसकेको छ । त्यहाँको सरकारले लकडाउन खोल्ने योजना नै बनाई त्यसको कार्यान्वयनको सुरुवात गरिसकेको छ ।
पहिलो चरणमा भारतका कतिपय क्षेत्रमा अत्यावश्यक वस्तु, कृषि उपजको ओसारपोसार लगायतका गतिविधि खुकुलो बनाइएको छ । कतिपय क्षेत्रमा बिजुलीका पसल, लत्ताकपडाको पसल, किराना तथा डिपार्टमेन्टहरु समेत खुलाउन थालिएको छ ।
तर, भारतले कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको क्षेत्रमा भने लकडाउनलाई अझ कडाई गरेको छ ।
नेपाल सरकारले पनि त्यहीअनुसारको स्वरुप तयार गरिरहेको बालुवाटारस्थित स्रोतले दाबी गरेको छ ।
स्वास्थ्य विज्ञहरुको सल्लाहमा ग्रीन, एल्लो र रेड जोनमा विभिन्न क्षेत्रहरुलाई विभाजन गरी सोहीअनुसारको लकडाउनको नीति लागू गर्ने तयारी भएको हो ।
कोरोना संक्रमण नदेखिएको र सबै कम जोखिम रहेको क्षेत्रलाई ग्रीन जोनमा राखेर त्यहाँको लकडाउन खुकुलो पारिनेछ । त्यसको तुलनामा एल्लो जोनमा केही कडाई गरिनेछ ।
धेरै संक्रमित भेटिएका उदयपुर जस्ता क्षेत्रहरुलाई रेड जोनमा राखी त्यहाँको लकडाउनलाई अझ कडा बनाइनेछ ।
काठमाण्डौमा पछिल्लो समय संक्रमित बढ्ने संख्या खासै नरहेको र यहाँ कम्युनिटी वा लोकल टान्समिसन समेत भएको घटना नदेखिएको भन्दै स्वास्थ्य विज्ञहरुले यो क्षेत्रमा समेत लकडाउन खुकुलो पार्नुपर्ने सुझाव दिएका छन् ।
काठमाण्डौमा पहिलो चरणमा मोटरसाइकलमा एकजना मात्र यात्रा गर्न दिने, निजी कारहरुमा २ जना मात्र यात्रा गर्न दिने र तत्काल सार्वजनिक यातायात नखुलाउने तयारी गरिएको छ ।
बैशाख १५ गनेपछि उद्योग कलकारखानाहरुलाई शर्तसहित उत्पादन सुचारु गर्न दिइनेछ ।
अत्यावश्यक वस्तुको सामान पाइने पसल, मुख्य बजार क्षेत्र लगायतलाई समेत पहिलो चरणमै आवश्यक सतर्कता र सामाजिक दूरीको नियम लागू हुने गरी खोल्न दिइने निर्णय हुनसक्नेछ ।
लकडाउनलाई खुकुलो पारी आर्थिक गतिविधि सुचारु गर्ने विषयमा अर्थमन्त्रीले समेत निजी क्षेत्रका प्रतिनिधिसँगको भेटघाटमा पटक पटक संकेत गरिसकेका छन् । केही दिनअघि नेपाल चेम्बर अफ कमर्सका अधिकारीसँगको भेटमा अर्थमन्त्रीले लकडाउन खुकुलो पार्ने, स्वरुप परिवर्तन गरी बढी जोखिम रहेका क्षेत्रमा झन् कडाई र कम जोखिम रहेका क्षेत्रमा खुकुलो पार्ने लगायतका विषय सेयर गरेका थिए ।
लकडाउनलाई खुकुलो बनाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक बुधबार समेत प्रष्ट संकेत गरिसकेका छन् ।
बुधबार अध्यादेशपछि उत्पन्न परिस्थितिको बिषयमा ब्रिफिङ गर्न नेकपाका अध्यक्ष समेत रहेका प्रम ओलीले आफ्ना दलका संघीय सांसदहरुलाई पालैपालो बालुवाटार बोलाएर छलफल गरिरहेका छन् । अर्का अध्यक्ष प्रचण्डलाई समेत राखेर भइरहेको छलफलमा ओलीले लकडाउन खुकुलो हुने बताएका सांसदहरुले बताएका छन् ।
प्रधानमन्त्रीले समेत लकडाउन खुकुलो पार्नुपर्ने निश्कर्षसहितको निर्देशन दिएका कारण कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले यसको स्वरुप निर्धारणका लागि गृहकार्य समेत जारी राखेको छ । संभवत बैशाख १५ अघि लकडाउनको स्वरुप परिवर्तनको विषयमा ठोस निर्णय भई सरकारबाट आवश्यक घोषणा हुनसक्नेछ ।
के भन्छन् विज्ञ ?
स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा। खेम कार्कीले बैशाख १५ पछि लकडाउनको स्वरुप परिवर्तन गर्नुपर्नेमा जोड दिए । यसको तयारी पनि भइरहेको उल्लेख गर्दै डा। कार्कीले जोखिम कम रहेको क्षेत्रमा निजी सवारी साधन, कलकारखाना र खेतीपाती गर्न दिने नीति लिइने बताए ।
आफूहरुले सरकारलाई सार्वजनिक यातायात बन्द गरे पनि व्यक्तिगत सवारी साधन भने चल्न दिइनुपर्ने सुझाव दिएको समेत उनले खुलाए । यसरी चल्न दिंदा पनि निजी सवारीमा चढ्ने मानिसहरुको संख्या तोकिनेछ ।
आवश्यक पर्याप्त सतर्कता अपनाएर र शर्त पूरा गर्ने गरी उद्योग कलकारखाना पनि चल्न दिने, कामदार तथा मजदूरको स्वास्थ्यको ग्यारेण्टी सम्बन्धित उद्योगीले नै गरेर मात्र उद्योग संचालन गर्नुपर्ने लगायतका शर्त सरकारले राख्नसक्ने अधिकारीहरु बताउँछन् ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतकै इपिडिमियोलोजी तथा सरुवा रोग विभागका प्रमुख डा। वासुदेव पाण्डेले समेत बैशाख १५ पछि लकडाउनको स्वरुप परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
धेरै संक्रमित भएका र संक्रमणको उच्च जोखिम रहेको क्षेत्रमा थप कडाई गर्ने र अन्य स्थानमा लकडाउन क्रमशः खुकुलो बनाउँदै जाने रणनीति लिनुपर्ने उनको सुझाव छ ।
लकडाउन खुकुलो बनाउँदै जाँदा सो अवधिमा परीक्षणको कामलाई समेत तीव्र पार्नुपर्ने, सामाजिक दूरी कायम गर्ने विषयमा सचेत बन्नुपर्ने, संक्रमित देखिएका क्षेत्रको कन्ट्याक्ट ट्रेसिङलाई अझ बढी तीव्रता दिनुपर्ने लगायतको नीति आउनसक्ने उनले संकेत गरेका छन् ।