असार १३ , काठमाडौं ।बेहुलालेबेहुली पक्षसँग ५० लाख रुपैयाँ दाइजो मागेको आरोपमा बेहुलालाई प्रहरीले विवाह मण्डपबाटै पक्राउ गरेको छ ।
विवाद बढ्दै जाँदा बेहुलीलाई विवाह मण्डपमै गाली बेइज्जती तथा हातपात समेत भएपछि प्रहरी वृत्त मालीगाउँले बेहुला रौनियारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका-६ घर भई हाल काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार छन् ।
अमेरिकाको ग्रिनकार्ड प्राप्त रौनियारको यही असार १२ गते काठमाडौंको नक्शालस्थित लिसेरा रिसेप्सन पार्टी प्यालेसमा विवाह हुँदै थियो ।
विवाह हुँदै गर्दा बेहुला पक्षले ५० लाख रुपैयाँ नपाए र जन्तीलाई पनि राम्रो स्वागत नभएको भन्दै हामीले मागेको दाइजो नपाएमा विवाह रद्द गर्ने धम्की दिएका थिए । तर केटा पक्षले पटक-पटक गरी २२ लाख रुपैयाँसमेत केटी पक्षबाट लगेको बुझिएको प्रहरीले जनाएको छ ।
रौनियार उपर विवाह सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।