बैशाख ४, भैरहवा । रुपन्देहीको ओमसतिया–५ दीपनगरका दशरथ अहिरलाई बन्दाबन्दीको कुनै पर्वाह छैन । अहिर परिवारका सदस्यका साथमा दिनहुँ गहुँ काट्न व्यस्त हुनुहुन्छ । अहिरले दुई बिघा क्षेत्रफलमा लगाइएको गहुँ आधा काटिसक्नुभएको छ भने बाँकी काट्ने क्रम चलिरहेको छ । अघिल्ला वर्षमा कम्बाइन हार्बेटर मेशिनले गहुँ काट्ने गर्नुभएका अहिरले यस वर्ष बन्दाबन्दीका कारण गाउँपालिकाबाट पास चाहिन्छ भनिएपछि आफैँले बाली काटेको बताउनुभयो ।
गहु बिक्री गरेर श्रीमती, छोरा, बुहारी, नाति र नातिनी गरी १० जनाको परिवार पाल्नुपर्ने भएकाले बन्दाबन्दीका समयमा घरमा बस्ने समय नमिलेको अहिरको भनाइ छ । उहाँजस्तै अन्य कृषक पनि अहिले गहुँ स्याहार्नमै व्यस्त छन् । उनीहरुलाई बन्दाबन्दीले छोएको छैन ।
समरीमाई गाउँपालिका–६ रोहिणीहवाका मोहमद असलम खान पनि अहिले गहुँबाली स्याहार्न व्यस्त हुनुहुन्छ । चार बिघा क्षेत्रफलमा लगाइएको गहुँबाली स्याहार्न उहाँलाई गाउँपालिकाले यान्त्रिक औजार चलाउन पास बनाइदिएको छ । उहाँले औजारको प्रयोग गरेर गहुँ काट्ने र घरसम्म ट्रयाक्टरमार्फत लैजाने गरेको बताउनुभयो । उहाँ जस्तै गाउँमा अरुले पनि यान्त्रिक औजारमार्फत गहुँ काट्नेले पास बनाएर बाली भित्र्याउने गरेको खानले जानकारी दिनुभयो ।
अहिर र खानजस्तै अन्य किसानलाई कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दीले छोएको छैन । बिहानदेखि साँझसम्म किसानहरु पाकेको गहुँबाली स्याहार्नमा व्यस्त छन् । बन्दाबन्दीमा घरभित्र बस्ने, हातमुख धुने र मास्क लगाउनुपर्छ भन्ने कुरा सुनेको भए पनि काम गर्नुपर्ने भएकाले लकडाउन पालना गर्न नसकिउको फुर्सद किसानको भनाइ छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषकलाई खेती गर्न, पाकेको बाली स्याहार्न तथा स्वास्थ्यसम्बन्धी व्यक्तिगत सुरक्षा अपनाएर काम गर्न दिनका लागि स्थानीय तहलाई मन्त्रालयले निर्देशन दिएको बताउनुभयो । “कृषकहरुलाई स्थानीय प्रशासन र स्थानीय निकायको सहजीकरणमा कृषिसम्बन्धी कार्य गर्न दिनका लाथि गृह मन्त्रालयसँगको समन्वयमा सबै तहलाई निर्देशन गरिएको छ”, मन्त्री भुसालले भन्नुभयो, “कृषकहरुलाई समस्या परे मन्त्रालयले सहसचिव डा हरिबहादुर केसीलाई आधिकारिक व्यक्ति तोकेको छ । उहाँले किसानका समस्या समाधान गर्न पहल गर्नुहुने छ ।”
शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीले स्थानीय सुरक्षाकर्मीसँगको समन्वयमा किसानलाई सहजरुपमा खेती गर्न दिइएको जानकारी दिनुभयो । उहाँले कृषकले उत्पादन गरेको कृषिजन्य पदार्थ नजीकको बजारसम्म लैजान कुनै रोकतोक नगरिएको पनि बताउनुभयो ।
रुपन्देहीमा ८२ हजार ६२२ हेक्टर खेतीयोग्य जमीन छ । आर्थिक वर्ष २०७६ ÷०७७ मा २५ हजार ९५५ हेक्टर जमीनमा गहुँ खेती गरिएको रुपन्देहीसमेत हेर्ने जिम्मा पाएको कृषि ज्ञान केन्द्र नवलपरासी पश्चिमका कृषि वैज्ञानिक अरविन्दमणि त्रिपाठीले जानकारी दिनुभयो ।
खेती गर्नेलाई अनुदान
गुल्मी– धुर्कोट गाउँपालिकाले बाँझो जमीनमा खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । गाउँमा खाद्यान्नको अभाव हुन नदिन बाँझो जमीन खनेर खेती गर्नेलाई बालीअनुसार फरकफरक दरमा अनुदान दिइने गाउँपालिकाले जनाएको छ ।
दुई वर्षदेखि बाँझो रहेको खेतीयोग्य जमीनमा सुन्तला, कागती तथा अन्य फलफूल खेती गरेमा प्रतिरोपनी रु तीन हजार तथा अन्न र मसलेदार खेती गरेमा प्रतिरोपनी रु चार हजार अनुदान दिने निर्णय गरिएकोे गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिनुभयो ।
त्यस्तै बन्दाबन्दीका समयमा गाउँपालिकाका तर्फबाट खाद्य पदार्थ प्राप्त गरेका विपन्न तथा मजदूर परिवारले आफ्नो स्वामित्वमा रहेको वा अरुको जग्गा भाडामा लिई अन्न तथा फलफूल खेती गरेमा प्रतिरोपनी रु पाँच हजार दिने निर्णय भएको छ । आफ्नो जग्गा भएर पनि बाँझो राख्नेका हकमा भने गाउँपालिकाले भूुमिकर वृृद्धि गर्ने भएको छ । जग्गा बाँझो राखेमा आगामी गाउँसभाबाट पास हुने गरी गाउँपालिकाले कर वृद्धि गर्ने अध्यक्ष पोखरेलले बताउनुभयो । अनुदान लिन प्रक्रिया पूरा गरी कार्यालयमा आउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले जानकारी दिनुभयो ।
रासस