भदौ १७ , काठमाडौं । भदौ १० मा आएको आकस्मिक बाढीपछि नेपालका करिब ४३ हजार महिला तथा बालिकालाई तत्काल मानवीय सहायता आवश्यक रहेको संयुक्त राष्ट्रसंघीय महिला निकाय (यूएन वुमन) ले जनाएको छ।
यूएन वुमनका अनुसार बाढीबाट विशेषगरी गरिबी, अपांगता, गर्भावस्था, सूचनामा सीमित पहुँच तथा स्रोतसाधनको अभावमा रहेका महिला तथा बालिका बढी प्रभावित भएका छन्। रसुवा र नुवाकोटमा मात्रै अनुमानित १ लाख ५७ हजार ५० महिला तथा बालिका प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
बाढी प्रभावित क्षेत्रमा महिलाले सबैभन्दा ठूलो आवश्यकता खाद्यान्न रहेको बताएका छन्। पानीका मुहान, सडक तथा पुलमा क्षति पुगेपछि सुरक्षित खानेपानीको पहुँचसमेत गम्भीर रूपमा प्रभावित भएको यूएन वुमनले जनाएको छ। रसुवामा बाढीअघि नै महिलाले परिवारका लागि पानी ल्याउन दैनिक लामो समय खर्च गर्नुपर्थ्यो भने पूर्वाधारमा भएको क्षतिले समस्या झन् बढाएको छ।
बाढीले महिला तथा बालिकामाथि लैंगिक हिंसा, शोषण तथा मानव बेचबिखनको जोखिम समेत बढाएको यूएन वुमनले चेतावनी दिएको छ। सञ्चार तथा भौतिक पूर्वाधारमा क्षति पुगेका कारण हिंसा वा अन्य जोखिममा परेका महिलाले सहायता तथा संरक्षण सेवामा पुग्न थप कठिनाइ भोगिरहेका छन्।
रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा करिब तीनमध्ये एक महिला निरक्षर रहेको तथ्यांक उद्धृत गर्दै यूएन वुमनले राहतसम्बन्धी सूचना प्राप्त गर्न, दर्ता प्रक्रिया पूरा गर्न र आफैंले सहायता दाबी गर्न उनीहरूलाई कठिनाइ हुन सक्ने जनाएको छ।
सुरक्षित र छुट्टै शौचालयको अभाव पनि अर्को प्रमुख समस्या बनेको छ। पर्याप्त प्रकाश, गोपनीयता तथा महिला–पुरुषका लागि छुट्टाछुट्टै शौचालय नहुँदा विशेषगरी रातको समयमा शौचालय प्रयोग, नुहाउने, सुत्ने तथा आवतजावत गर्दा महिला तथा बालिकामाथि जोखिम बढेको छ।
बाढी प्रभावित क्षेत्रमा महिला नेतृत्वका घरपरिवारले पनि थप चुनौती सामना गरिरहेका छन्। बागमती प्रदेशमा तीनमध्ये एक घरपरिवार महिलाको नेतृत्वमा रहेको र त्यसमध्ये करिब एकतिहाइ घरपरिवार रेमिट्यान्समा निर्भर रहेको यूएन वुमनले जनाएको छ। संकटका बेला यस्ता परिवारसँग राहत तथा पुनःस्थापनाका लागि आवश्यक स्रोत, आम्दानी र सहयोगको पहुँच सीमित हुन सक्ने बताइएको छ।
बाढीपछि महिलाको अवैतनिक हेरचाहसम्बन्धी कामको बोझ समेत बढेको छ। नेपालमा दैनिक अवैतनिक हेरचाहसम्बन्धी कामको करिब ८५ प्रतिशत हिस्सा महिलाले गर्दै आएका छन्। मानिस घाइते हुनुका साथै घर, विद्यालय, खानेपानी प्रणाली तथा अन्य आधारभूत सेवा क्षतिग्रस्त भएपछि महिलामाथि हेरचाहको थप जिम्मेवारी पर्ने यूएन वुमनले जनाएको छ।
यूएन वुमनले प्रभावित क्षेत्रमा सक्रिय महिला नेतृत्वका संस्थाहरूसँग सहकार्य गरिरहेको जनाएको छ। यस्ता संस्थाहरू स्वयं बाढीबाट प्रभावित भए पनि राहत तथा पुनःस्थापनामा उनीहरूको भूमिका महत्वपूर्ण रहेको बताइएको छ।
यसैबीच, महिला तथा बालिकाका लागि राहत, संरक्षण र पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्न यूएन वुमनले २० लाख अमेरिकी डलर आपत्कालीन सहयोग माग गरेको छ। निकायले मानवीय सहायता महिलाको आवश्यकता र अनुभवलाई केन्द्रमा राखेर सञ्चालन गर्न तथा राहत र पुनःस्थापनासम्बन्धी निर्णय प्रक्रियामा महिला र महिला नेतृत्वका संस्थाको समान सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ।