भदौ १५ , काठमाडौं । भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रयास भइरहेका बेला सामाजिक सञ्जालमा एआईबाट बनाइएका भिडियो, पुराना घटनाका दृश्य र भ्रामक सामग्री तीव्र रूपमा फैलिन थालेका छन्। यसले विपद्को वास्तविक अवस्थाबारे सूचना लिन खोजिरहेका सर्वसाधारण र बेपत्ता आफन्तको खोजी गरिरहेका परिवारलाई थप अन्योलमा पारेको छ।
द काठमाडौं पोस्टका अनुसार बाढीपछि भाइरल भएका केही भिडियो नेपालकै घटनाका रूपमा प्रस्तुत गरिए पनि ती भारत तथा अन्य देशका पुराना घटनाका दृश्य थिए। केही भिडियो भने पूर्ण रूपमा एआईबाट सिर्जना गरिएको पाइएको छ।
एक भाइरल भिडियोमा गृहमन्त्री सुदन गुरुङ सुरुङभित्र उद्धारमा खटिएको दाबी गरिएको थियो। तथ्य जाँच गर्दा उक्त भिडियो नेपालमा खिचिएको नभई भारतको उत्तराखण्डमा अगस्ट १४ मा भएको सुरुङ उद्धार अभियानको पुरानो भिडियो भएको पुष्टि भएको थियो।
त्यस्तै, बाढीको भयावह दृश्य देखाइएको अर्को भिडियो एआईबाट सिर्जना गरिएको पाइएको छ। उक्त भिडियोमा ९७.२ प्रतिशत सम्भावनामा एआईबाट सिर्जना भएको निष्कर्ष आएको थियो। अर्को पुल भत्किएको देखाउने भिडियो पनि पूर्ण रूपमा एआई निर्मित भएको पुष्टि भएको छ।
बाढीपछि शव, घाइते तथा क्षतिग्रस्त बस्तीका ग्राफिक दृश्यहरू समेत सामाजिक सञ्जालमा चेतावनीबिना फैलाइएको पाइएको छ। नेपाल प्रेस काउन्सिलले यस्ता सामग्रीमाथि निगरानी बढाउँदै चार दिनमा ७२ सामाजिक सञ्जाल प्रयोगकर्तालाई आपत्तिजनक सामग्री हटाउन निर्देशन दिएको जनाएको छ।
प्रेस काउन्सिलले भोटेकोशी घटनासम्बन्धी गलत सूचना र आपत्तिजनक सामग्रीबारे उजुरी लिन विशेष पोर्टलसमेत सञ्चालन गरेको छ। शनिबार साँझसम्म उक्त पोर्टलमा १०१ वटा उजुरी परेको जनाइएको छ।
विपद्का बेला गलत सूचनाले राहत तथा उद्धारसम्बन्धी सही जानकारीमा पहुँच प्रभावित गर्नुका साथै बेपत्ता आफन्तको खोजीमा रहेका परिवारको मानसिक तनाव अझ बढाउन सक्ने भएकाले सामाजिक सञ्जालमा सामग्री सेयर गर्नुअघि स्रोत र सत्यता जाँच गर्न आग्रह गरिएको छ।