भदौ २२, काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीको पानी घटे पनि त्यसबाट प्रभावित बालबालिकाको मनमा भने त्रास अझै हट्न सकेको छैन। बाढीमा आफन्त गुमाएका, घरबार गुमाएका वा आफैंले विपद्को सामना गरेका बालबालिकामा निद्रा नलाग्ने, डराउने, एक्लिने र सामान्य आवाजबाट समेत आत्तिने समस्या देखिएको छ।
नुवाकोटकी १६ वर्षीया समीक्षा डंगोलले बाढीका कारण दिदी, भाइ र दुई फुपू गुमाइन्। बाढीपछि उनी अस्थायी आश्रयस्थल हुँदै आफन्तको घरमा पुगेकी छन्। तर बाढीको त्रास र परिवारका सदस्यसँग बिताएका क्षणको सम्झनाले उनलाई अझै सताइरहेको छ। उनी राति राम्रोसँग सुत्न नसक्ने, अचानक विगतका घटनाहरू सम्झिने र रुने गरेको बताइएको छ।
रसुवामा पनि बाढीबाट जोगिएका बालबालिकामा यस्तै मानसिक असर देखिएको छ। बाढीका बेला ज्यान जोगाएर भागेकी कार्साङ तामाङको २१ महिनाको छोरा ठूलो आवाज सुन्नासाथ डराउन थालेका छन्। हेलिकोप्टरको आवाजसमेत सुन्दा उनी आत्तिने गरेको उनकी आमाले बताएकी छन्।
युनिसेफका अनुसार नेपालमा आएको बाढीबाट करिब १७ हजार बालबालिका प्रभावित भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा, नुवाकोट र धादिङका १९ विद्यालयका ६ हजार ९०१ विद्यार्थी प्रभावित भएका छन्। रसुवा र नुवाकोटमा मात्रै ६२२ विद्यार्थी अझै सम्पर्कविहीन रहेको स्थानीय शिक्षा कार्यालय, पालिका र विद्यालयको अनुमान छ।
विज्ञहरूका अनुसार विपद्पछि बालबालिकामा निद्रा नलाग्ने, मुटुको धड्कन बढ्ने, पसिना आउने, छिटो–छिटो सास फेर्ने, डर तथा बेचैनीजस्ता समस्या देखिन सक्छन्। यस्ता समस्या लामो समयसम्म कायम रहेमा चिन्ता, डिप्रेसन तथा पोस्ट–ट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) जस्ता मानसिक स्वास्थ्य समस्या विकसित हुन सक्ने मनोचिकित्सकहरूले बताएका छन्।
बाढीबाट प्रत्यक्ष प्रभावित नभएका बालबालिकासमेत सामाजिक सञ्जाल र सञ्चारमाध्यममा लगातार देखाइने बाढी तथा विनाशका दृश्यका कारण मानसिक रूपमा प्रभावित हुन सक्ने विज्ञहरूको भनाइ छ। त्यसैले बालबालिकालाई अत्यधिक त्रास उत्पन्न गर्ने दृश्य र समाचारबाट जोगाउन आवश्यक रहेको उनीहरूले बताएका छन्।
सरकार तथा विभिन्न संघसंस्थाले प्रभावित बालबालिकाका लागि मनोसामाजिक परामर्श र सहयोग सुरु गरेका छन्। अस्थायी आश्रयस्थलमा खेलकुद, चित्र बनाउने, कथा सुनाउनेजस्ता गतिविधिमार्फत बालबालिकालाई सामान्य दिनचर्यामा फर्काउने प्रयास भइरहेको छ।
विशेषज्ञहरूले बाढीपछि बालबालिकालाई सुरक्षित महसुस गराउनु, उनीहरूको कुरा ध्यानपूर्वक सुन्नु र पटक–पटक पीडादायी घटना सम्झाउन बाध्य नपार्नु आवश्यक रहेको बताएका छन्। बाढीको भौतिक क्षति पुनर्निर्माणसँगै बालबालिकाको मानसिक स्वास्थ्य र सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्ने उनीहरूको सुझाव छ।