साउन २७ ,काठमाडौं । बाजुरामा पछिल्ला तीन आर्थिक वर्षमा महिला तथा बालबालिकासम्बन्धी दर्ता भएका घटनामध्ये झण्डै आधा घरेलु हिंसासँग सम्बन्धित रहेको पाइएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार तीन आर्थिक वर्षमा महिला तथा बालबालिकासम्बन्धी १४४ वटा घटना दर्ता भएका छन्। तीमध्ये ७० वटा घरेलु हिंसाका घटना रहेका छन्। आर्थिक वर्ष २०८०\८१ मा २९, २०८१\८२ मा २३ र २०८२\८३ मा १८ वटा घरेलु हिंसाका घटना दर्ता भएका थिए।
महिला तथा बालबालिकासम्बन्धी घटनामा बलात्कार दोस्रो ठूलो श्रेणीमा परेको छ। तीन वर्षमा २७ वटा बलात्कारका घटना दर्ता भएका छन्। यसैगरी बहुविवाहका १८, लैंगिक हिंसाका १७, बलात्कार प्रयासका आठ, गर्भपतनसम्बन्धी दुई तथा बालविवाहको एक घटना दर्ता भएको प्रहरीले जनाएको छ।
पछिल्लो आर्थिक वर्षमा बलात्कार, बलात्कार प्रयास, बालविवाह र बहुविवाहका घटना घटे पनि लैंगिक हिंसाका उजुरी भने बढेका छन्। आर्थिक वर्ष २०८२\८३ मा लैंगिक हिंसाका १० वटा उजुरी परेका थिए भने अघिल्ला दुई आर्थिक वर्षमा गरी सातवटा मात्र उजुरी दर्ता भएका थिए।
प्रहरीको पाँच वर्षको तथ्यांकअनुसार ६४ वटा यौन अपराधका घटनामा ६४ जना पीडित भएका छन्। तीमध्ये ४२ घटना घर वा घरेलु वातावरणमै भएका थिए। ग्रामीण क्षेत्रका १० देखि १८ वर्षभन्दा कम उमेरका बालिकाहरू विशेष जोखिममा रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख डीएसपी शैलेश्वरी बोहराका अनुसार मदिरा सेवन, आर्थिक प्रलोभन, डर तथा धम्की हिंसाका घटनासँग जोडिएका प्रमुख कारणमध्ये हुन्। ढिलो उजुरी, घटना नै नदर्ता हुने अवस्था, सामाजिक दबाब र पारिवारिक इज्जतको चिन्ताका कारण धेरै घटना बाहिर नआउने समस्या रहेको उनले बताइन्।
प्रहरीले महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि विद्यालय, परिवार र समुदायमा सचेतना कार्यक्रमसँगै पीडितमैत्री अनुसन्धान र पुनःस्थापनाको व्यवस्था बलियो बनाउनुपर्नेमा जोड दिएको छ।