web image
भदौ २३, काठमाडौं । पोखरा उद्योग वाणिज्य संघको ७२ वर्षे इतिहासमा पहिलोपटक महिला अध्यक्ष निर्वाचित भएकी छन्। संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक साधारणसभापछि भएको निर्वाचनमा शोभा गौतम अध्यक्षमा निर्वाचित भएकी हुन्।
निर्वाचनमा गौतमले ७५१ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिस्पर्धी अर्जुन पोखरेलले ६३६, उत्तममान बुद्धाचार्यले ६०१ र बलराम आचार्यले २५३ मत पाए।
कास्कीकोटमा जन्मिएकी ४६ वर्षीया गौतमले २०५३ सालमा पोखराको गैह्रापाटनमा चिया पसलबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेकी थिइन्। त्यसपछि उनले रेस्टुरेन्ट, ब्युटी पार्लर हुँदै सौन्दर्य प्रतियोगिता तथा कार्यक्रम व्यवस्थापनको क्षेत्रमा प्रवेश गरिन्।
उनले ‘पुष्पाञ्जली फेसन एन्ड इभेन्ट’ स्थापना गरी ‘मिस कल्चर नेपाल’ र ‘मिस कल्चर पश्चिमाञ्चल’ लगायतका कार्यक्रम आयोजना गरिन्। पछि मेला–महोत्सव, सांगीतिक यात्रा तथा व्यावसायिक ब्रान्ड प्रवर्द्धनका कार्यक्रमसमेत सञ्चालन गरिन्।
गौतम २०७३ सालमा पोखरा उद्योग वाणिज्य संघको उपसमितिको सदस्यका रूपमा संघसँग जोडिएकी थिइन्। त्यसपछि कार्यसमिति सदस्य, उपमहासचिव हुँदै महासचिव बनेकी उनी अहिले संघको नेतृत्वमा पुगेकी हुन्।
व्यावसायिक यात्राका क्रममा आफूले आर्थिक अभाव, सामाजिक विभेद र पारिवारिक जिम्मेवारीका चुनौती सामना गरेको गौतमले बताएकी छन्। संघर्षका दिनमा खानका लागि चामलसमेत नहुने र चुहिने छानामुनि बस्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
गौतम सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आएकी छन्। उनी लायन्स क्लब अफ पोखरा पुष्पाञ्जलीकी संस्थापक अध्यक्ष हुन् भने मानव सेवा आश्रमसँग पनि आबद्ध छिन्। हाल उनले ‘पुष्पाञ्जली फेसन एन्ड इभेन्ट’ र ‘सफल एडभर्टाइजिङ’ सञ्चालन गरिरहेकी छन्।
Share this with your friends: