माघ २, पर्सा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश भित्र सञ्चालित रहेका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई प्रतिमहिना रु ५०० प्रोत्साहन भत्ता दिने बताउनुभएको छ।
प्रदेश नं २, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज वीरगञ्जमा आयोजना गरेको ‘छोरी शिक्षा बीमा सप्ताह शिविर’ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “ प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि सामुदायिक विद्यालयको कक्षा १ देखि ८ सम्मका छात्रालाई रु ५०० का दरले प्रोत्साहन रकम उपलब्ध गराउने तयारी गरेको छ । ”
मुख्यमन्त्री राउतले विद्यालयमा छात्रालाई टिकाइ राख्न यो योजना प्रदेश सरकारले शुरु गर्न लागेको स्पष्ट गर्दै छोरीलाई २० वर्षभित्र रु २० लाख उपलब्ध गराउने सोचका साथ प्रदेश सरकार अगाडि बढिरहेको छ भन्नुभयो । उहाँले प्रदेश सरकारले थालनी गरेको ‘बेटी पढाइ, बेटी बचाइ’ कार्यक्रमअन्तर्गत रु एक लाखको बीमा रकमलाई रु २० लाखसम्म पु¥याउने सोचका साथ प्रदेश सरकार अघि बढिरहेको जानकारी दिनुभयो ।
मुख्यमन्त्री राउतले छोरी शिक्षाको बीमा रकमलाई वृद्धि गर्न प्रदेशभित्र रहेका स्थानीय तहका प्रमुख तथा अन्य दातृनिकायसँग कुराकानी अगाडि बढाएको उल्लेख गर्नुभयो ।
छोरी विमा कार्यक्रमका पर्सा जिल्ला संयोजक ईश्वर यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रदीप यादव, प्रदेशसभा सदस्य जन्त अन्सारीलगायतले देश विकासका लागि नारी शिक्षित हुन आवश्यक रहेको र प्रदेश सरकारले थालनी गरेको बीमाले छोरीलाई शिक्षित हुने वातावरण बनाउने विश्वास व्यक्त गर्नुभयो ।
वीरगञ्जको विर्तामा सञ्चालित श्री त्रिजुद्ध माविको सभाकक्षमा आजदेखि शुरु भएको सप्ताहव्यापी बीमा शिविर माघ ९ गतेसम्म सञ्चालन हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
विसं २०७५ माघ १ गते यता जन्मिएकी छोरीको बीमा गर्न छुट भएकालाई शिविर सञ्चालन गरिएको बताइएको छ ।
रासस