चैत २१ , काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण बढिरहँदा नेपालमा पनि हिजो ओमिक्रोनको नयाँ भेरियन्ट भेटिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट एक्सबीबी.१.१६ भेरियन्ट पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशभरिबाट लिएको 'र्यान्डम स्याम्पलिङ' विधिबाट लिएको २४ वटा पीसीआर तथा एन्टिजेन पोजिटिभ नमुनाहरूको जेनोम सिक्वेन्सिङ गर्दा सबै नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको प्रवक्ता डा. अधिकारीले जानकारी दिएका छन् । परीक्षण गरिएका नमुनामध्ये १० वटामा ओमिक्रोन एक्सबीबी.१.१६ पुष्टि भएको हो ।
त्यस्तै २र२ वटा नमुनामा ओमिक्रोन बीए १.१, बीए २, ओमिक्रोन बीए ५, ओमिक्रोन बीए ५.२ पुष्टि भएको छ । त्यस्तै ३ वटा नमुनामा ओमिक्रोन एक्सबीबी १.५ पुष्टि भएको छ । त्यस्तै १र१ वटा नमुनामा बीए २.७६, एक्सबीबी २.६, एक्सबीएफ पुष्टि भएको छ ।
केही दिनदेखि छिमेकी मुलुक भारतमा समेत कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी.१.१६ फैलिइरहेको छ । भारतमा जनवरीमा पहिलो पटक उक्त भेरियन्ट देखिएको हो । त्यसयता भारतमा संक्रमण फैलिइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)की कोभिड–१९ प्राविधिक प्रमुख मारिया भान केरखोभले यस भेरियन्टलाई सुक्ष्म निगरानी गरिनुपर्ने बताएकी छिन् । उनले भनेकी छिन्, 'हामी नयाँ भेरियन्ट अझ कडा हुन सक्ने विषयमा चिन्तित छौँ ।' उनले भारतमा बढिरहेको संक्रमण यसै भेरियन्टका कारण पनि हुन सक्ने बताएकी छिन् ।
उनले भनेकी छिन्, 'एक्सबीबी.१.१६ ले अरु भेरियन्टलाई विस्थापित गरिरहेको छ । यो निगरानी गर्नुपर्ने चिज हो ।' अहिलेसम्म करिब २ दर्जन देशमा यो भेरियन्ट फैलिइसकेको छ । डब्लूएचओका अनुसार ओमिक्रोनको ६०० भन्दा बढी सबभेरियन्ट ट्य्राक भएको छ । एक्सबीबी.१.१६ तीमध्येको एक हो ।
यसैबीच नेपालमा सोमबार थप ७६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । ३४५ पीसीआर र ८०६ एन्टिजेन परीक्षण गर्दा क्रमशस् ४९ र २७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २२७ पुगेको छ । स्वास्थ्य मन्त्रालयले जसमा एन्टिजेन परीक्षणबाट पुष्टि भएका केसहरू समावेश गरेको छैन ।
स्वास्थ्य मन्त्रालयले सबै तह र तप्काबाट प्रभावका भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यका मापदण्ड पालना गर्नरगराउन आग्रह गरेको छ । सीमानाकाबाट आवतजावत गर्ने शंकास्पद लक्षण भएका यात्रुहरूको सीमानाकाका हेल्थ डेस्कमा अनिवार्य परीक्षण गराउन पनि मन्त्रालयले आग्रह गरेको छ । सीमानाकामा कसैलाई पोजिटिभ देखिएमा नजिकैको अस्पतालमा उपचार गर्ने व्यवस्थासमेत मिलाइएको मन्त्रालयको भनाइ छ ।