साउन ७, काठमाडौं । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको टोली आज दिउँसो ३ बजे दिल्ली जाने भएको छ । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भुसाल सहित ५ जना माओवादी नेताहरू भारत जान लागेका हुन् । जसमा पार्टी केन्द्रीय सदस्य चक्रपाणि खनाल, रामेश्वर राय यादव, सुरेशकुमार राई, सत्या पहाडी छन् ।
आज दिउँसो ३ बजे दिल्ली जाने भुसाल नेतृत्वको टोली ५ दिनसम्म भारतमै बस्ने भ्रमण दलका सदस्य एवम् पार्टी केन्द्रीय सदस्य यादवले बताए । भाजपा र माओवादी केन्द्रको ‘पार्टी टु पार्टी’ सम्बन्ध विस्तार गर्न भुसाल सहितको टोली भारत जान लागेको हो । भुसाल नेतृत्वको टोलीले दिल्ली, देहरादुन र ऋषिकेस लगायत ठाउँहरूको अवलोकन गर्ने भएको छ ।