भदौ १९ , काठमाडौं । भारतको राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा (नेइट) को प्रश्नपत्र चुहावट प्रकरणमा तीन अभियुक्तले आफूहरू स्वेच्छाले झूट पत्ता लगाउने परीक्षण (पोलिग्राफ) र ब्रेन म्यापिङ परीक्षण गराउन तयार रहेको भन्दै दिल्लीस्थित विशेष अदालतमा निवेदन दिएका छन्।
अभियुक्तहरूले आफू निर्दोष रहेको प्रमाणित गर्न र केन्द्रीय अनुसन्धान ब्युरो ९सीबीआई० को अनुसन्धानमा सहयोग पुर्याउन यस्तो परीक्षण गराउन चाहेको बताएका छन्। उनीहरूले कुनै दबाब वा जबर्जस्तीबिना स्वेच्छाले परीक्षण गर्न तयार रहेको निवेदनमा उल्लेख गरेका छन्।
पोलिग्राफ तथा ब्रेन म्यापिङ परीक्षणले सत्यतथ्य पत्ता लगाउन अनुसन्धानमा सहयोग पुग्ने दाबी गर्दै अभियुक्तहरूले सरकारी स्वीकृति प्राप्त फरेन्सिक विज्ञान प्रयोगशालामा कानुन र संवैधानिक तथा प्रक्रियागत सुरक्षाका मापदण्ड पालना गरेर परीक्षण गर्न अनुमति मागेका छन्।
विशेष अदालतका न्यायाधीश अजय गुप्ताले अभियुक्तहरूको निवेदनमाथि सीबीआईसँग जवाफ मागेका छन्। अदालतले यस्तो निवेदन कानुनी रूपमा सुनुवाइयोग्य छ वा छैनलगायत विषयमा ६ अगस्टसम्म जवाफ दिन सीबीआईलाई निर्देशन दिएको छ।
यसै विषयमा अदालतले अभियुक्त विकास बिवाल र दिनेश बिवालको जमानत निवेदनमाथिको सुनुवाइ पनि ६ अगस्टसम्मका लागि स्थगित गरेको छ। सीबीआईले पेस गरेको अभियोगपत्रमाथि औपचारिक रूपमा संज्ञान लिने विषय पनि सोही मितिसम्मका लागि स्थगित गरिएको छ।
पोलिग्राफ र ब्रेन म्यापिङ परीक्षणका लागि निवेदन दिने अभियुक्तहरूमा मंगललाल बिवाल, दिनेश बिवाल र विकास बिवाल रहेका छन्।
उनीहरूले अनुसन्धान एजेन्सीलाई सहयोग गर्न आफूहरू स्वेच्छाले वैज्ञानिक परीक्षण गराउन तयार रहेको बताएका छन्। परीक्षणले निष्पक्ष र पारदर्शी अनुसन्धानमा सहयोग पुग्ने उनीहरूको दाबी छ।
नेइट प्रश्नपत्र चुहावट मुद्दा सुनुवाइ गरिरहेकी विशेष न्यायाधीश अनु ग्रोभर बालिगाको सरुवा भएपछि मुद्दा हेर्ने न्यायाधीश पनि परिवर्तन भएको छ। बालिगालाई विशेष राष्ट्रिय अनुसन्धान एजेन्सी अदालतमा सरुवा गरिएपछि विशेष न्यायाधीश अजय गुप्ताले मुद्दाको सुनुवाइ सम्हालेका हुन्।
दिल्ली उच्च अदालतले सार्वजनिक परीक्षामा प्रश्नपत्र चुहावट तथा अन्य अनुचित गतिविधिसँग सम्बन्धित मुद्दाको छिटो सुनुवाइका लागि विशेष अदालत तोकेको थियो। त्यसपछि बालिगाले जुलाई २७ मा नेइट प्रश्नपत्र चुहावट मुद्दाको पहिलो सुनुवाइ गरेकी थिइन्।
सीबीआईले नेइट प्रश्नपत्र चुहावट प्रकरणमा १३ जनाविरुद्ध अभियोगपत्र दायर गरेको छ। उनीहरू सबै हाल न्यायिक हिरासतमा रहेको जनाइएको छ।
यो प्रकरण चिकित्सा शिक्षामा भर्नाका लागि सञ्चालन हुने नेइट–यूजी परीक्षासँग सम्बन्धित छ। प्रश्नपत्र चुहावटको आरोपपछि राष्ट्रिय परीक्षण एजेन्सीले मे १२ मा परीक्षा रद्द गरेको थियो। त्यसपछि जुन २१ मा पुनः परीक्षा सञ्चालन गरिएको थियो।
अब अदालतले ६ अगस्टमा तीन अभियुक्तले माग गरेको पोलिग्राफ तथा ब्रेन म्यापिङ परीक्षण, दुई अभियुक्तको जमानत निवेदन र सीबीआईको अभियोगपत्रमाथि थप सुनुवाइ गर्नेछ।