साउन १९ , काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण र श्रम शोषण अन्त्यसहित १५ बुँदे माग राख्दै आमरण अनसनमा बसेकी स्टाफ नर्स ज्योति रानाभाटको समर्थनमा स्वास्थ्यकर्मी तथा नर्सिङ समुदायले प्रदर्शन गरेका छन्।
साउन १४ गतेदेखि अनसनरत रानाभाटको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै उनका मागहरूको शीघ्र सम्बोधनका लागि दबाब दिन काठमाडौं उपत्यकाका नर्स तथा स्वास्थ्यकर्मीहरूले वीर अस्पताल परिसरमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘नर्स बचाऔं, स्वास्थ्य बचाऔं’, ‘सम्मानजनक सेवा सुविधा सुनिश्चित गर’, ‘नर्सिङ ऐन कार्यान्वयन गर’, ‘गुणस्तरीय नर्सिङ शिक्षा कायम गर’ तथा ‘बिरामी सुरक्षाको प्रत्याभूति गर’ जस्ता नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए।
प्रदर्शनकारीहरूले नर्सहरूको तलब, भत्ता, सेवा सुविधा र वृत्ति विकाससम्बन्धी विषयमा सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै देशभरका नर्सहरू अन्यायमा परेको गुनासो गरेका छन्।
अनसनको छैटौं दिनसम्म आइपुग्दा रानाभाटको स्वास्थ्य अवस्था गम्भीर रूपमा कमजोर बनेको छ। स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरी उपचार भइरहेको छ।
स्वास्थ्यकर्मीहरूले रानाभाटको जीवन रक्षाका लागि सरकारसँग तत्काल सार्थक वार्ता गरी निष्कर्षमा पुग्न आग्रह गरेका छन्।