साउन २६ ,काठमाडौं । घरमै स्वास्थ्य सेवा लिन चाहने बिरामीलाई लक्षित गर्दै नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होमबीच सहकार्य भएको छ। यस सहकार्यअन्तर्गत नर्भिकका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले बिरामीको घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्नेछन्।
विशेषगरी ज्येष्ठ महिला, दीर्घरोगी महिला, शल्यक्रियापछि पुनर्स्थापनामा रहेका महिला तथा अस्पतालसम्म पुग्न कठिन हुने महिलालाई यस सेवाबाट सहज हुने अपेक्षा गरिएको छ।
सहकार्यअनुसार घरमै होम नर्सिङ, चिकित्सकीय परामर्श, फिजियोथेरापी तथा पुनर्स्थापना सेवा, ल्याब नमुना संकलन, पोस्ट–अपरेटिभ केयर, फलोअप तथा मासिक स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध हुनेछ।
घरमै उपचार गराइरहेका बिरामीलाई थप विशेषज्ञ उपचार आवश्यक परेमा नर्भिक अस्पतालमा रेफर गर्ने तथा आवश्यक समन्वय गर्ने व्यवस्था पनि गरिएको छ।
विदेशमा रहेका नेपालीका वृद्ध आमाहरू तथा महिला आफन्तको स्वास्थ्य हेरचाहमा समेत यो सेवा उपयोगी हुने विश्वास गरिएको छ। रोजगारी, अध्ययनलगायत कारणले युवा पुस्ता विदेशिने क्रम बढ्दै जाँदा घरमा रहेका वृद्ध महिला तथा अन्य आफन्तलाई आवश्यक स्वास्थ्य सेवा समयमै उपलब्ध गराउन चुनौती हुने गरेको छ।
नर्भिकका संस्थापक अध्यक्ष बसन्त चौधरीले विदेशमा रहेका नेपालीका नेपालमा रहेका अशक्त, दीर्घरोगी तथा वृद्ध आमाबुबा र आफन्तलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले करिब २५ वर्षदेखि ‘प्यारेन्ट वेलनेस’ कार्यक्रम सञ्चालन गर्दै आएका थिए। पछिल्लो समय उक्त सेवालाई हेल्थ एट होमसँगको सहकार्यमा निरन्तरता दिइएको नर्भिकले जनाएको छ।
सहकार्यअन्तर्गत दुवै संस्थाले स्वास्थ्यकर्मीको तालिम, ज्ञान आदान–प्रदान तथा बिरामीको हेरचाहसम्बन्धी समन्वयसमेत गर्नेछन्।