साउन २५ ,काठमाडौं । निर्देशक विनयराज पौडेलको निर्देशनमा बनेको फिल्म ‘अक्षरा’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरले धनी परिवारमा विवाह गरेपछि एक युवतीले भोग्नुपरेको घरेलु हिंसा, मानसिक पीडा र सामाजिक यथार्थलाई सशक्त रूपमा प्रस्तुत गरेको छ।
टिजरमा छोरीको विवाह गर्दा परिवारको पृष्ठभूमि नबुझी केवल अनुहार र आर्थिक हैसियतलाई प्राथमिकता दिँदा उत्पन्न हुने समस्यामाथि केन्द्रित कथा देखाइएको छ। फिल्ममा सुशील पोखरेलले बुबाको भूमिका निर्वाह गरेका छन् भने न्यान्सी खड्काले पीडित छोरीको भूमिका निभाएकी छन्। त्यस्तै, सुशील सिटौला न्यान्सीका श्रीमानको भूमिकामा देखिएका छन्, जसले मदिराको लतमा डुबेर श्रीमतीमाथि हिंसा गर्ने पात्रलाई जीवन्त बनाएका छन्।
श्रीमानबाट हिंसा सहन नसकेपछि माइती फर्किएकी छोरीले बुवासँग गरेको भावुक संवाद टिजरको मुख्य आकर्षण बनेको छ। न्यान्सीको संवाद— “कतिन्जेल नारीले मात्रै आफ्नो घर(थर सार्नुपर्नेरु अरूलाई खुशी पार्न सधैं आफू हार्नुपर्नेरु छोरी भनेको अरूको घर जाने मात्र होइन बा, माइतीको टेको पनि हो। के म टेको बन्न पाउँदिन र बारु” —ले समाजमा रहेको गहिरो सोचमाथि प्रश्न उठाएको छ।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस फिल्मकी प्रस्तुतकर्ता सोनी थापा ढुंगाना हुन्। फिल्ममा उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगानाको लगानी रहेको छ भने कार्यकारी निर्माताका रूपमा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्। फिल्मको कथा स्वयं निर्माता उग्रसेन ढुंगानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका छन्।
फिल्ममा न्यान्सी खड्का, सुशील पोखरेल र सुशील सिटौलासहित अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने ९ल्याग्री दादा० र सृष्टि खड्काको अभिनय रहेको छ। साथै बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुंगाना पनि देखिएका छन्।
सामाजिक सन्देश बोकेको फिल्म ‘अक्षरा’ आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ।