साउन १३ , काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चौधरीको पहलमा पशु वधशाला तथा मासु जाँचसम्बन्धी ऐन देशभर चरणबद्ध रूपमा लागू हुने भएको छ। उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यसहित यो ऐन कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पहिलो चरणमा महानगरपालिका र उपमहानगरपालिकामा आधुनिक वधशाला स्थापना तथा नियमित मासु परीक्षण व्यवस्था सुरु गरिनेछ। त्यसपछि क्रमशः नगरपालिका र गाउँपालिकामा पनि विस्तार गरिने योजना छ।
यो ऐन लागू भएसँगै अवैध वध, अस्वस्थकर मासु बिक्री तथा असुरक्षित प्रक्रियामा रोक लगाइने विश्वास गरिएको छ। साथै, पशु वध गर्दा अपनाउनुपर्ने मापदण्ड, सरसफाइ र स्वास्थ्य परीक्षण अनिवार्य गरिनेछ।
मन्त्री चौधरीले उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकता दिँदै दीर्घकालीन रूपमा खाद्य सुरक्षालाई मजबुत बनाउन यो कदम महत्त्वपूर्ण हुने बताए। उनले सम्बन्धित निकायहरूलाई प्रभावकारी कार्यान्वयनका लागि समन्वय गर्न निर्देशनसमेत दिएका छन्।
विशेषज्ञहरूले पनि यस कदमले सार्वजनिक स्वास्थ्य सुधारका साथै मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन सहयोग पुग्ने बताएका छन्।