भदौ १९ , काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा दुई महिला पत्रकारले आफूहरूलाई प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरेको आरोप लगाएका छन्। दिल्ली प्रहरीले भने उक्त आरोपलाई असत्य र भ्रामक भन्दै अस्वीकार गरेको छ।
शाहिन खान र नफिसा खान नामका दुई स्वतन्त्र पत्रकार दक्षिण दिल्लीको साकेतमा आयोजित एक कार्यक्रममा समाचार संकलनका लागि पुगेका थिए। कार्यक्रममा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता र केन्द्रीय गृहमन्त्री अमित शाह सहभागी थिए।
पत्रकारहरूका अनुसार उनीहरूले मुख्यमन्त्रीलाई प्रश्न गर्ने प्रयास गरेपछि प्रहरीले उनीहरूलाई रोकेको र साकेत प्रहरी चौकीमा लगेको थियो। त्यहाँ आफूहरूलाई बन्द कोठामा लगेर थप्पड तथा लाठीले कुटपिट गरिएको उनीहरूको आरोप छ।
उनीहरूले प्रहरी अधिकारीहरूले आफ्नो समुदाय र धार्मिक पहिचानबारे समेत प्रश्न गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा दुवै पत्रकारले शरीरका विभिन्न भागमा चोटका निशान देखाएका छन्। यद्यपि, भिडियो र आरोपलाई स्वतन्त्र रूपमा पुष्टि गरिएको छैन।
तर दिल्ली प्रहरीले भने पत्रकारहरूलाई मुख्यमन्त्रीलाई प्रश्न गरेको कारण पक्राउ वा कुटपिट गरिएको आरोप गलत भएको जनाएको छ। प्रहरीका अनुसार उनीहरूले कार्यक्रमस्थल नजिक आफ्नो स्कुटर भीआईपी आवागमनका लागि तोकिएको मार्गमा पार्क गरेका थिए र पटक–पटक हटाउन आग्रह गर्दा पनि नमानेपछि थप सोधपुछका लागि प्रहरी चौकी लगिएको हो।
घटनापछि प्रेस क्लब अफ इन्डिया, इन्डियन वुमेन्स प्रेस कोर्प्स, दिल्ली युनियन अफ जर्नलिस्ट्सलगायत पत्रकार संगठनहरूले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। उनीहरूले आरोप पुष्टि भए दोषी प्रहरी अधिकारीमाथि कारबाही हुनुपर्ने बताएका छन्।
घटनालाई लिएर भारतका विपक्षी दलहरूले समेत सरकारको आलोचना गरेका छन्। घटनाबारे सामाजिक सञ्जालमा भिडियोहरू व्यापक रूपमा फैलिएका छन् भने प्रहरीले अपुष्ट तथा भ्रामक सूचना प्रसार नगर्न आग्रह गरेको छ।