पुस १३, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले दलित समुदायका विपन्न परिवारका ३७ जना बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । मोरङ जिल्लाको थलाहामा मंगलबार आयोजित कार्यक्रममा कटहरी गाउँपालिका, थलाहास्थित जनता माविका २९ जना र धनपालथान गाउँपालिका दादर वैरियाको सरस्वती माविका आठ जना गरी ३७ जना बालिकालाई छात्रवृत्ति प्रदान गरिएको समाजले जनाएको छ ।
६ कक्षामा अध्यनरत ती प्रत्येक बालिकालाई १२ हजारका दरले ४ लाख ४४ हजारको छात्रवृत्ति प्रदान गरिएको हो । ‘छोरी पढाऔ गरिमा बढाऔँ’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले प्रारम्भ गरेको बालिका छात्रवृत्ति अभियान अन्तर्गत पाँच वर्षसम्म अर्थात् १० कक्षा पुगुन्जेल यिनै बालिकालाई १२ हजारका दरले प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।