असार १६, । जुडो अभ्यासका क्रममा २७ पटकसम्म भुइँमा पछारिएका ताइवानका एक बालकको मृत्युभएको छ । गत अप्रिलमा घाइते भएपछि उनी ब्रेन ह्यामरेजबाट ग्रस्त भएर कोमामा थिए ।
परिवारको स्वीकृति लिएर कोमाबाट निकालिएपछि उनको मृत्यु भएको हो । जुडोको तालिमका क्रममा प्रशिक्षक र साथीभाई दुबैले उनलाई पछारेका थिए । यी बालकका प्रशिक्षकमाथि अहिले शारिरिक हिंसाको आरोप लगाइएको छ ।
प्रशिक्षककै कारण गम्भिर घाइते भएकाले उनीविरुद्ध आपराधिक मुद्दा चलाइएको स्थानीय पत्रिका ताइपेइ टाइम्सले जनाएको छ । यी प्रशिक्षक गत महिना जमानतमा रिहा भएका थिए ।
यी बालकले २१ अप्रिलमा आफ्ना काकाको निगरानीमा जुडोको तालिम लिएका थिए । त्यसक्रममा काकाले तालिमको भिडियो पनि खिचेका थिए । उनले बच्चाका लागि जुडो उपयुक्त छैन भनेर आमालाई देखाउनका लागि यो भिडियो खिचेका थिए ।
भिडियोमा यी बालकलाई अन्य ठूला बालकहरुले पटक–पटक पछारेको देखिन्छ । भिडियोमा यी बालक रोएको देखिन्छ, तर उनका प्रशिक्षकले उठ्न निर्देशन दिन्छन् र ठूला बच्चाहरुलाई फेरि पछार्न भन्छन् ।
अन्त्यमा आफैं उठाएर यी बालकलाई भुइँमा पछार्छन् ।
बच्चाले यति धेरै पीडा व्यहोर्दै काका किन चुप लागे भन्ने प्रश्न पनि उठेको छ । तर ताइवानका विज्ञहरुका अनुसार यहाँ शिक्षकहरुलाई ठूलो सम्मान दिइन्छ र उनीहरुको अधिकारलाई स्वीकारिन्छ ।
यी बच्चाकी आमाका अनुसार घटनास्थलमा जे भएको थियो, त्यो देखेर काका निकै तर्सिएका थिए । र, अन्त्यमा यी प्रशिक्षकको लाइसेन्स समेत नरहेको पाइएको छ । ‘मैले जब उनलाई स्कुल लगेको थिएँ । त्यस बिहान उसले मलाई गुडबाई भनेको थियो र राती ऊ यस्तो अवस्थामा आइसकेको थियो ।’ स्थानीय समयअनुसार मंगलबार राति ९ बजे फेंगयुआन अस्पतालले यी बालकको ब्लड प्रेसर र हृदयको गतिको स्तर घट्दै गएको जनाएको थियो । अस्पतालले त्यसपछि परिवारसँग स्वीकृति लिएर उनलाई कोमाबाट निकालेको थियो । ताइवानको सामाजिक सञ्जालमा अहिले यी बालकप्रति धेरैले सहानूभूति प्रकट गरेका छन् । ‘अब त्यहाँ पीडा हुनेछैन, सानो भाइ,’ सामाजिक सञ्जालका प्रयोगकर्ताले लेखेका छन् । प्रशिक्षकमाथि कडा कारबाही हुनुपर्ने र बालकको परिवारलाई क्षतिपुर्ति दिनुपर्ने माग सामाजिक सञ्जालमा उठेको छ ।
- एजेन्सी