माघ ८, काठमाडौं । अध्ययनलाई उमेर र कामले छेक्दैन । यो भनाइलाई गायिका मिलन नेवारले चरितार्थ गरेकी छन् । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत ललितकलाशास्त्री विषयमा स्नातक उत्तीर्ण गरेकी छन् ।
सामाजिक सञ्जालबाट यसबारे जानकारी दिंदै उनले स्नातक उपाधिको प्रमाणपत्रसहित विभूषित हुन पाउँदा आफूलाई गर्व महसुस भएको उल्लेख गरेकी छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘त्रिभुवन विश्वविद्यालयअन्तर्गत ललितकलाशास्त्रीको परीक्षामा उत्तीर्ण भई स्नातकोपाधिको प्रमाणपत्रसहित विभूषित हुन पाउँदा अत्यन्त गर्वको महसुस भएको छ । विश्वविद्यालय परिवार, सम्पूर्ण गुरुबुवा, गुरुआमा र साथीभाइहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’
मिलनका जहिलेसम्म संसारमा, गाला रातै, फूलबुट्टे सारी लगायत थुप्रै गीत लोकप्रिय छन् । भ्वाइस अफ नेपालको पाँचौं सिजनमा कोच मिलनको टिम विजयी समेत भएको थियो ।