चैत १७ काठमाडौं । एक गर्भवती महिलाको पेटबाट कैँची निकालिएको घटना प्रकाशमा आएको छ । उक्त कैँची १७ वर्षअघि भएको एउटा घटनासँग सम्बन्धित रहेको बताइएको छ ।
भारतको लखनउस्थित इन्दिरानगर निवासी महिलाको पेटबाट कैँची निकालिएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार ती महिलाको पेटको अप्रेसन १७ वर्ष अघि भएको थियो । अप्रेसनका क्रममा चिकित्सकले उनको पेटमै कैँची भुलवश छाडेका थिए ।
महिलाका पति अरविन्द कुमार पाण्डेयका अनुसार पीडित महिलाको पेट दुख्ने समस्या थियो । त्यसअघि पनि बारम्बार उनको पेट दुख्ने गर्दथ्यो । तर, गर्भवतीसमेत भएका कारण पछिल्लो समय उनलाई लखनउस्थित किङ्ग जर्ज मेडिकल युनिभर्सिटीमा उपचारका लागि लगिएको थियो । एक्स–रे गर्दा चिकित्सकले उनको पेटमा कैँची रहेको पत्ता लगाए ।
२५ मार्चमा ती महिलाको अप्रेसन गरी पेटमा रहेको कैँची निकालिएको हो । पीडित महिलाका पति अरविन्द कुमारले गाजीपुर प्रहरी थानामा १७ वर्षअघि आफ्नी पत्नीको अप्रेसन गर्ने चिकित्सकविरुद्ध उजुरी दायर गरेका छन् ।