web image
भदौ १८ , काठमाडौं । भारतको मध्यप्रदेशस्थित रेवाको सञ्जय गान्धी मेमोरियल अस्पतालका सुपरिटेन्डेन्ट डा. राहुल मिश्रलाई पदबाट हटाइएको छ। गर्भवती महिला कल्पना मिश्र र उनका नवजात शिशुको मृत्यु भएपछि परिवारसँग गरिएको कुराकानीका क्रममा डा.मिश्रले असंवेदनशील टिप्पणी गरेको भिडियो सार्वजनिक भएपछि विवाद चर्किएको थियो।
२५ वर्षीया कल्पना मिश्रलाई अगस्ट २५ राति अस्पताल भर्ना गरिएको थियो। अगस्ट २६ मा उनको सिजेरियन शल्यक्रिया गरिएको थियो। उपचारका क्रममा उनको अवस्था बिग्रिएपछि मृत्यु भएको थियो भने नवजात शिशुसमेत बाँच्न सकेन। परिवारले अस्पतालमा पर्याप्त उपचार र निगरानी नगरिएको आरोप लगाएको छ।
घटनाको केही घण्टाअघि खिचिएको भनिएको भिडियोमा कल्पनाले परिवारसँग आफूलाई घर लैजान आग्रह गरिरहेको र अस्पतालका कर्मचारीले उनलाई नियन्त्रणमा राख्न खोजिरहेको देखिन्छ। उनले आफूलाई बचाउन परिवारसँग आग्रह गरेको भिडियो सार्वजनिक भएपछि घटनाबारे थप प्रश्न उठेको थियो।
यसैबीच, अस्पतालका सुपरिटेन्डेन्ट डा. मिश्रले उपचारमा लापरबाही भएको आरोप अस्वीकार गर्दै चिकित्सकीय प्रोटोकलअनुसार उपचार गरिएको दाबी गरेका थिए। उनले आफ्नो विवादास्पद टिप्पणीबारे परिवारसँग माफीसमेत मागेका छन्। घटनाबारे उच्चस्तरीय छानबिनसमेत भइरहेको छ।
मध्यप्रदेशको स्वास्थ्य तथा चिकित्सा शिक्षा विभागले सेप्टेम्बर १ मा डा. मिश्रको स्थानमा जनरल सर्जरी विभागका प्राध्यापक डा. प्रियंक शर्मालाई अर्को आदेश नभएसम्म अस्पतालको सुपरिटेन्डेन्टको जिम्मेवारी दिएको छ।
Share this with your friends: