असार १६, काठमाडौँ । नेपालमा विगत २४ घण्टामा थप ३१६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।
यो वृद्धिसँगै मङ्गलवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १३,५६४ पुगेको छ।
तीमध्ये ३,१९४ जना निको भएका छन् भने २९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार अहिले आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या १०,३४१ छ।अहिलेसम्म प्रदेश नं ५ मा सर्वाधिक ३,८०७ जना र २ मा ३,७९४ जना कोभिड(१९ भएका व्यक्ति भेटिएका छन्।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।
मङ्गलवार सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १२१ जना र प्रदेश नं २ मा ८२ जना थप सङ्क्रमित पुष्टि भएको छ।
हालसम्म सात जिल्लामा ५०० भन्दा बढी सङ्क्रमण देखा परेको डा। गौतमले जानकारी दिए।ती जिल्लाहरूमा प्रदेश नं २ को महोत्तरी, रौतहट र सर्लाही, प्रदेश नं ५ मा कपिलवस्तु र दाङ, कर्णाली प्रदेशको दैलेख र सुदूरपश्चिम प्रदेशको कैलाली रहेका छन्।
के छ अरू तथ्याङ्करु
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४,७११ वटा नमुनाको पीसीआर विधिबाट र २,१४२ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको थियो।
यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या २,२८,३४१ पुगेको छ।
विगत २४ घण्टामा विभिन्न जिल्लामा ६० जना निको भएर घर फर्किएका छन्।
क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।
अहिले देशभरि ५३,०७० व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।