साउन १० , काठमाडौं । कोरोना महामारीका बेला लगाइएको लकडाउनले धेरैका योजना अधुरै छाड्यो । तर, यही कठिन समय केहीका लागि नयाँ अवसर पनि बन्यो । नेपाली चकलेट ब्रान्ड ‘चाइचाइ’ त्यसकै एउटा उदाहरण हो, जसले घरको सानो कोठाबाट सुरू भएर आज बजारमा आफ्नो पहिचान बनाएको छ ।
हाल ‘चाइचाइ’ का काठमाडौं उपत्यकामा तीन वटा आफ्नै पसल सञ्चालनमा छन् । सामाजिक सञ्जालमार्फत अर्डर गर्न सकिने यस ब्रान्डका उत्पादन विभिन्न मार्ट र सुपरमार्केटमा समेत उपलब्ध छन् । ड्र्याजी, रोचर्स, बनबन, बार, कुनाफा जस्ता विभिन्न स्वादका चकलेटले ग्राहकको रोजाइ पाउँदै आएको छ ।
‘चाइचाइ’ को सुरुवात लकडाउनकै समयमा भएको हो। सञ्चालक शर्मिला श्रेष्ठका अनुसार, “लकडाउन नभएको भए सायद चाइचाइ जन्मिने थिएन।” पारिवारिक लगानीमा आधारित यस व्यवसायमा शर्मिलासहित चार जनाको संलग्नता छ।
त्यतिबेला प्रत्यक्ष भेटघाट सम्भव नभएपछि उनीहरूले मेसेन्जर ग्ररुपमार्फत नयाँ–नयाँ परिकार बनाउने र छलफल गर्ने गर्थे। खाना बनाउन रुचि राख्ने शर्मिलाले युट्युबको सहायताले विभिन्न परिकार बनाउने क्रममा चकलेट पनि बनाइन । आफन्तलाई बाँडिएको त्यो चकलेटले सकारात्मक प्रतिक्रिया पाएपछि यसलाई व्यवसायिक रूपमा अघि बढाउने निर्णय भयो।
लकडाउनपछि अवस्था सामान्य बन्दै जाँदा उनीहरूले करिब तीन लाख रुपैयाँ लगानी जुटाए। । घरकै कोठामा सानो कारखाना स्थापना गरियो। चीनबाट मेसिन ल्याइयो भने कच्चा पदार्थका रूपमा कोको भारतबाट आयात गरियो। त्यसपछि ‘पूर्ण केशरी ग्रुप’ दर्ता भई ‘चाइचाइ कन्फेक्सनरी’ सञ्चालनमा आयो।
ब्रान्डको नाम पनि रोचक छ। परिवारका बच्चाहरूले चकलेटलाई ‘चाइचाइ’ भनेर बोलाउने गर्थे। त्यही स्नेहपूर्ण सम्बोधनबाट ब्रान्डको नाम तय गरिएको शर्मिला बताउँछिन्।
व्यावसायिक उत्पादनका लागि उनीहरूले दुबईबाट प्रशिक्षक बोलाएर चकलेट बनाउने सीप सिके। चकलेट उत्पादनमा कोठाको तापक्रमसमेत महत्वपूर्ण हुने कुरा उनीहरूले त्यही क्रममा बुझे। पछि भारतबाट अर्को प्रशिक्षक बोलाएर मेसिन सञ्चालन र प्याकेजिङसम्बन्धी सीप हासिल गरे।
सुरुवातमा फरक स्वाद र शैली ल्याउने उद्देश्यले उनीहरूले ड्र्याजीज (नट्समा चकलेट लेपन गरिएको मिठाइ) उत्पादनमा ध्यान दिए। तिहारको अवसर पारेर पहिलो पटक २५ बट्टा उत्पादन गरिएको चकलेट आफन्तले नै किनिदिए।
पछि इन्स्टाग्राममार्फत प्रचार सुरु भयो। सुरुमा थोरै अर्डर आउने गरे पनि विस्तारै माग बढ्दै गयो। विदेशी चकलेटको आपूर्ति कम भएका बेला स्थानीय उत्पादन भएकाले बजारमा चाइचाइले राम्रो अवसर पायो। मार्ट र सुपरमार्केटहरूले आफैं सम्पर्क गरेर अर्डर गर्न थालेपछि व्यवसायले गति लियो।
हाल चाइचाइले बजार विस्तार गर्दै नयाँ स्वादहरू पनि ल्याइरहेको छ। शर्मिलाका अनुसार चकलेट उद्योगमा सबैभन्दा ठूलो चुनौती गर्मी मौसम हो, किनकि चकलेट छिट्टै पग्लिने भएकाले भण्डारण र वितरणमा विशेष ध्यान दिनुपर्छ।
आगामी योजनाअनुसार, चाइचाइले काठमाडौं उपत्यकाभित्र थप १० वटा पसल खोल्ने र अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने लक्ष्य राखेको छ।