साउन २४ ,काठमाडौं । ललितपुरस्थित बीएण्डबी अस्पतालमा एक किशोरीको डिम्ब (अण्डा) निकालिएको घटनामा प्रहरीले स्त्रीरोग विशेषज्ञ डा। नूतन शर्मासँग बयान लिएको छ। घटनामा उनको संलग्नता देखिएको आशंकामा जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान अघि बढाएको हो।
प्रहरीका अनुसार असार १४ गते ग्वार्कोस्थित अस्पतालको आइभीएफ सेन्टरमा १७ वर्षीया किशोरीको डिम्ब निकालिएको आरोप छ। सो घटनापछि पीडित परिवारले साउन १ गते जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दर्ता गराएका थिए।
ललितपुरका एसएसपी तुलबहादुर कार्कीका अनुसार शुक्रबार डा। शर्मासँग बयान लिइएको छ र उनलाई हाजिर जमानीमा रिहा गरेर थप अनुसन्धान जारी राखिएको छ। “सरकारी वकिल कार्यालयको सहमतिमा उहाँलाई हाजिर जमानीमा राखेर अनुसन्धान गरिरहेका छौँ,” उनले बताए।
यसअघि प्रहरीले घटनामा संलग्न रहेको आशंकामा लमजुङ घर भई इमाडोलमा ब्युटिसियनको काम गर्दै आएकी राधिका गोतामेलाई पक्राउ गरेको थियो। उनलाई पनि हाजिर जमानीमा राखिएको छ।
प्रहरीले डा। शर्मालाई पक्राउ गर्न अदालतसँग दुई पटक अनुमति मागेको थियो। तर अदालतले अनुमति नदिएपछि सरकारी वकिलको सल्लाहमा बिचौलियासमेतलाई हाजिर जमानीमा राखी थप प्रमाण संकलन गर्न निर्देशन दिइएको जनाइएको छ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार किशोरीलाई ३० हजार रुपैयाँ दिएर डिम्ब निकालिएको थियो। पछि स्वास्थ्य समस्या देखिएपछि मात्र परिवारले घटनाबारे थाहा पाएको बताइएको छ।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।