साउन १० , काठमाडौं । किशोरीको डिम्ब (अण्डा) तस्करी प्रकरणमा नयाँ तथ्य बाहिर आएको छ। अनुसन्धानका क्रममा चिकित्सक डा नुतन शर्मा र बिचौलियाबीच आर्थिक कारोबार भएको प्रमाण फेला परेको स्रोतले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार, किशोरीहरूलाई प्रलोभनमा पारेर अवैध रूपमा डिम्ब संकलन गरी विदेश पठाउने नेटवर्क सक्रिय रहेको आशंका गरिएको छ। यसै सन्दर्भमा डा। शर्मा र केही बिचौलियाबीच रकम लेनदेन भएको देखिएको अनुसन्धान अधिकारीहरूले बताएका छन्।
पीडित किशोरीहरूलाई विभिन्न बहानामा स्वास्थ्य परीक्षणका नाममा अस्पताल वा क्लिनिकमा बोलाई डिम्ब निकाल्ने कार्य गरिएको आरोप छ। उनीहरूलाई जोखिमबारे पूर्ण जानकारी नदिई प्रक्रियामा संलग्न गराइएको प्रारम्भिक बयानमा उल्लेख गरिएको छ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तीव्र पारेको छ भने संलग्नता पुष्टि भएमा कडा कानुनी कारबाही गरिने जनाएको छ। मानव तस्करी तथा अंग तस्करीसम्बन्धी कानुनअन्तर्गत मुद्दा चलाउन तयारी भइरहेको स्रोतको भनाइ छ।
स्वास्थ्य क्षेत्रमा यस्ता गैरकानुनी गतिविधि बढ्दै जानु गम्भीर चिन्ताको विषय भएको भन्दै सरोकारवालाहरूले कडा अनुगमन र नियमनको माग गरेका छन्। किशोरीहरूको सुरक्षा रसचेतनाका लागि व्यापक अभियान आवश्यक रहेको पनि उनीहरूको धारणा छ।
यस प्रकरणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।