भदौ ७ , काठमाडौं । बाराको कलैयाबाट शनिबार साँझ बेपत्ता भएकी दुई वर्षीया बालिका बिन्दी मण्डल आइतबार बिहान सकुशल फेला परेकी छन्। तीन वर्षीया गरिमा चौधरीको हत्या घटनाले सर्वसाधारणमा त्रास बढिरहेका बेला बालिका बेपत्ता भएपछि परिवार र स्थानीयमा थप चिन्ता बढेको थियो।
कलैया उपमहानगरपालिका–१ कट्टीपर्साबाट शनिबार साँझदेखि हराएकी बिन्दीलाई कलैया–२६ स्थित सिसवा महेशपुरमा सडक किनारको नालामा रोइरहेको अवस्थामा स्थानीय एक महिलाले फेला पारेकी थिइन्।
बालिकालाई नालाबाट उद्धार गरी ती महिलाले आफ्नै घरमा लगेर सुरक्षित राखेकी थिइन्। पछि प्रहरीको समन्वयमा बालिकालाई उनका अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बालिका बेपत्ता भएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको नेतृत्वमा नेपाल प्रहरीसहित विभिन्न सुरक्षा निकायले रातभर खोजी अभियान सञ्चालन गरेका थिए।
खोजी अभियानमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली, नेपाली सेना र सशस्त्र प्रहरीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।
बालिका सकुशल भेटिएपछि परिवारले राहतको महसुस गरेको छ। घटनापछि प्रहरीले बालिका कसरी घरबाट बाहिरिइन् र नालासम्म कसरी पुगिन् भन्ने विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।