भदौ १८ , काठमाडौं । अमेरिकी गायिका तथा गीतकार ओलिभिया रोड्रिगोको नेतृत्वमा पहिलोपटक आयोजना गरिएको ‘डेजी चेन फिल्ड्स’ महोत्सवले महिला सशक्तीकरण, महिला अधिकार र लैङ्गिक समानताको आवाजलाई सांगीतिक मञ्चमार्फत अघि सारेको छ।
क्यालिफोर्नियाको इर्विनमा शनिबार आयोजना गरिएको एकदिने महिला नेतृत्वको उक्त महोत्सवमा करिब ४५ हजार दर्शक सहभागी भएका थिए। कार्यक्रममा च्यापेल रोन, द ब्रीडर्स, स्टिभी निक्स, डोइची, सारा म्याकलाक्लनलगायत कलाकारले प्रस्तुति दिएका थिए।
महोत्सवबाट २ करोड अमेरिकी डलर रकम संकलन भएको जनाइएको छ। उक्त रकम लैङ्गिक हिंसा अन्त्य, प्रजनन अधिकार तथा महिला स्वास्थ्यलगायत क्षेत्रमा काम गर्ने १० वटा संस्थालाई सहयोग गर्न प्रयोग गरिनेछ।
महोत्सवमा लैङ्गिक हिंसाविरुद्ध काम गर्ने संस्था ‘फ्रिफ्रम’की संस्थापक सोन्या पासीले पनि सहभागिता जनाएकी थिइन्। उनले महिला तथा बालिकालाई आफ्ना अधिकार र आफूलाई महत्वपूर्ण लाग्ने विषयमा खुलेर आवाज उठाउन प्रेरित गरेकी थिइन्।
कार्यक्रममा महिलाको स्वास्थ्य, प्रजनन अधिकार र समानताका विषयलाई विशेष प्राथमिकता दिइएको थियो। महोत्सवका विभिन्न स्थानमा ‘हाम्रो शरीरमाथिको प्रतिबन्ध हटाऊ’ र ‘प्रजनन अधिकार मानव अधिकार हो’ जस्ता सन्देश लेखिएका सामग्री राखिएका थिए।
ओलिभिया रोड्रिगोले यसअघि पनि महिला अधिकारका विषयमा आफ्नो समर्थन जनाउँदै आएकी छन्। उनको सन् २०२४ को ‘गट्स’ भ्रमणका क्रममा टिकटबाट प्राप्त रकमको केही हिस्सा गर्भपतनसम्बन्धी सहयोग तथा अधिकारका क्षेत्रमा काम गर्ने संस्थालाई प्रदान गरिएको थियो।
महोत्सवमा ऐतिहासिक महिला अधिकार आन्दोलनलाई समेत सम्झाइएको थियो। कार्यक्रमस्थलमा कलाकार तथा सामाजिक अभियन्ताका प्रेरणादायी भनाइ राखिएका थिए भने महिला अधिकार आन्दोलनसँग जोडिएका विभिन्न सांस्कृतिक प्रतीकहरू प्रयोग गरिएको थियो।
महोत्सवको अवधारणा सन् १९९० को दशकको चर्चित महिला केन्द्रित संगीत महोत्सव ‘लिलिथ फेयर’बाट पनि प्रभावित भएको बताइएको छ। ‘लिलिथ फेयर’की संस्थापक सारा म्याकलाक्लनले समेत रोड्रिगोसँगै प्रस्तुति दिएकी थिइन्।
रोड्रिगोले महिला कलाकार, अधिकारकर्मी र विभिन्न पुस्ताका महिलालाई एउटै मञ्चमा ल्याउँदै संगीतलाई महिला अधिकार र सशक्तीकरणसँग जोड्ने प्रयास गरेकी छन्।
यद्यपि अत्यधिक गर्मी, छायाको अभाव र खानाका लागि लामो लाइनका कारण महोत्सवमा केही व्यवस्थापनसम्बन्धी समस्या पनि देखिएको थियो। त्यसका बाबजुद महिला र बालिकाको ठूलो सहभागिता रहेको यस कार्यक्रमले मनोरञ्जनसँगै महिला अधिकार र सामाजिक परिवर्तनको सन्देश प्रवाह गरेको आयोजकहरूले बताएका छन्।