संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका कार्यालयले सामाजिक सुरक्षा भत्ताअन्तर्गतको रकम घरघरमा गएर नगरपालिकाका कर्मचारी र वडाध्यक्षहरुले वितरण गरेका छन् ।
स्थानीय तहको निर्वाचनपछि पहिलो पटक चैनपुर नगरपालिकाका जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ताअन्तर्गत अपाङ्ग, विधुवा महिला तथा ज्येष्ठ नागरिक भत्ता वितरणमा जुटेका हुन् ।
चैनपुर नगरपालिका कार्यालयमा रु तीन करोड ८३ लाख सामाजिक सुरक्षा भत्ता निकासा भएकोमा चैनपुर नगरपालिका–९ बस्ने १०७ वर्षका वृद्धा वीरबहादुर तामाङले पनि रु १६ हजार नगद आफ्नै घर आँगनमानै बुझ्न पाएकोमा दङ्ग छन् ।
कार्यालयले सामाजिक सुरक्षा भत्ता वितरणमा सहजता ल्याउन स्थानीय सरकारी स्वामित्वमा रहेको बैकमा खाता खोलेको भएपनि घर आँगनमा नै गएर सामाजिक सुरक्षा भत्ता बाँडेपछि बैंकमा सेवाग्राहीको पैसा जम्मा गर्ने झञ्झटबाट मुक्त नगरपालिका बनेको छ ।
उसो त मृत्यु भएकाका नाममा समेत सामाजिक सुरक्षा भत्ता आउँदै गरेको, मृत्यु भएका रेकर्ड सम्बन्धित निकायमा नपठाउँदा कति रकम फिर्ता हुने भन्ने यकिन भइनसकेको चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले बताए । उनका अनुसार अहिलेसम्म ११ वटै वडाका वडाध्यक्षले ७० प्रतिशतभन्दा माथि भत्ता बाँडिसकेको जनाइएको छ । रासस