भदौ १२ , काठमाडौं । सरकारले वरिष्ठ सहसचिव इन्दु घिमिरेलाई सचिवमा बढुवा गर्दै रक्षा मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव बढुवा सिफारिस समितिबाट वरिष्ठताका आधारमा पहिलो नम्बरमा सिफारिस भएकी घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
लोक सेवा आयोगअन्तर्गतको सचिव बढुवा सिफारिस समितिले भदौ ६ गते सहसचिवहरू इन्दु घिमिरे, श्रीकृष्ण नेपाल र नारायणप्रसाद भट्टलाई सचिवका लागि सिफारिस गरेको थियो। तीमध्ये सरकारले घिमिरेलाई सचिवमा बढुवा गरेको हो।
सचिवमा बढुवा हुनुअघि घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत थिइन्।
यस्तै, सरकारले हालका रक्षा सचिव केदारनाथ शर्मालाई गृह मन्त्रालयको सचिवमा सरुवा गरेको छ। वर्तमान गृह सचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य अवकाशमा जाने भएपछि शर्मालाई गृह सचिवको जिम्मेवारी दिइएको हो।
Share this with your friends: