चैत ७, चिप्लेढुङ्गा । कास्कीमा एक परिवारले उपचार अक्षयकोषको स्थापना गरेको छ । अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीको एक परिवारले आमा स्व नन्दकली भण्डारीको १३ औँ दिनको पुण्यतिथीमा वडाका गरिब, असहाय एवं बेसहाराको उपचारमा सहयोग पुगोस् भन्ने हेतुले रु एक लाखको उपचार अक्षयकोष स्थापना गरेको हो ।
अक्षयकोषबाट वडाका गरिब, असहाय, बेसहारा एवं आपत्कालीन अवस्थामा परेकाको स्वास्थ्य उपचारमा सहयोग गरिने भण्डारीका माइला छोरा मोहनले जानकारी दिनुभयो । उहाँले अक्षयकोष विस्तारै बढाउँदै लैजाने बताउनुभयो । वडाको मातहतमा रहने गरी स्थापित अक्षयकोषले समाजमा सकारात्मक सन्देश दिएको वडाध्यक्ष चूडामणि अधिकारीले बताउनुभयो । नन्दकलीको ६१ वर्षको उमेरमा गत फागुन २३ गते निधन भएको थियो । उहाँ २५ वर्ष देखि दम रोगबाट पीडित हुनुहुन्थ्यो ।
रासस